अर्थ-वाणिज्य

रुकुम पश्चिममा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने



रुकुम, १७ मंसिर । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् ।

किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो ।

उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको हो ।

आठबीसकोट नगरपालिका–१२ झिनचौरमा रहेको उक्त प्रालि र किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो रु एक सय २५ मा खरिद हुने नगर प्रमुख रवि केसी जानकारी दिए ।

उनका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा एक सय ४२ क्विन्टल किवी उत्पादन भएको छ । ६ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन् । पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको सङ्ख्या धेरै पुगेको छ ।

सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा विरतरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए । नगरपालिकामा गत वर्ष मात्र दुई हजार एक सय वटा किवीका बिरुवा रोपिएका थिए । अहिले नगर भरमा करिब एक हजार पाँच सय किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ ।

ती बोटबाट करिब एक सय ४२ क्विन्टल किवी उत्पादन हुने अनुमानसहित नगरपालिकाको रोहवरमा उक्त प्रालि र किसानबीचमा सहमति भएको हो । त्यस्तै नगरपालिकाले ढुवानीका लागि अनुदान पनि दिने भएको छ । किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्‍याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने नगर प्रमुख केसी बताउँछन् ।

अहिलेसम्म किसानले आफैँ किवी बिक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट बिक्री हुन लागेको हो । नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ । रासस

प्रकाशित : १७ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६