देउखुरी १८ मङ्सिर । पहिलो कार्यकालमा नाम र स्थायी राजधानी टुङ्गाएको लुम्बिनी प्रदेशले दास्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानी दाङबाटै गर्ने तयारी गरेको छ। नव निर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने र प्रदेश सभाको बैठक पनि दाङमै राख्ने तयारी तीव्र पारिएको हो।
नाम लुम्बिनी र ठाउँ दाङको राप्ती उपत्यका देउखुरीलाई तोके पनि राजधानी कार्यान्वयनको काम सुस्त गतिमा चलेको थियो। अहिले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकेर राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारकै काममा लुम्बिनी प्रदेश सरकार लागेको छ। राजधानीसँग सम्बिन्धित भौतिक पूर्वाधारको कामलाई गति दिन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती गाउँपालिकाको भवनमा कार्यालय स्थापना गरी कामको निगरानी थाल्नुभएको छ। अहिले प्रदेश सभा भवनको काम सकिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद् बैठक कक्ष, प्रदेशका अन्य प्रशासनिक केन्द्र, मुख्यमन्त्री निवास पनि बनिरहेको छ।
पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाटै भए पनि अबको सबै काम स्थायी राजधानी दाङबाटै सञ्चालन गर्ने गरी भौतिक निर्माणको कामलाई तीव्रता दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनकै लागि राप्ती प्राविधिक शिक्षालयलाई स्थान्तरण गरिएको र राजधानी कार्यान्वयन हुँदैन कि भन्ने शङ्का नगर्न आग्रह गर्नुभयो।
१८ मंसिर २०७९, आइतबार
प्रतिक्रिया