विराटनगर १८ मंसिर,। प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनको सिट संख्या ४७ सांसद पुगेको देखिएको छ ।
प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रत्यक्षतर्फ २५ सिट जितेको छ । समानुपातिकतर्फ ६ लाख ६५ हजार ४६० मत पाएको एमालेले १५ सिट पाउने देखिन्छ । अब सरकार बनाउन एमालेलाई थप ७ सांसद चाहिन्छ ।प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ । प्रत्यक्ष तर्फ सिट नजितेपनि जसपाले समानुपातिक मतका आधारमा एक सिट पाउने सम्भावना छ । अर्थात चुनावी गठबन्धन नटुटे प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्छ ।
बहुमत जुट्ने अवस्था आएपछि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले छलफल र भेटघाट तीव्र बनाएका छन् । एमालेबाट कार्की मुख्यमन्त्रीको एकल दाबेदार हुन ।एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा– ५ को प्रदेशसभा २ बाट कार्कीले चुनाव जितेका थिए । ‘हाम्रो बहुमत पुग्छ’, उनले भने, ‘चुनावअघिको गठबन्धन टुट्दैन ।’राप्रपा नेता दिनेश शाह पार्टीले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गरिनसकेको बताउँछन् । ‘निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छैन’, उनले भने,‘ सबै परिणाम सार्वजनिक भइसकेपछि पार्टीले निर्णय गर्छ ।’
कसको कति मत ?
प्रदेश १ मा समानुपातिक तर्फ १८ लाख ९९ हजार १४४ सदर भएको छ । जसमा एमालेले सबभन्दा धेरै ६ लाख ६५ हजार ४६० मत पाएको छ ।नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११ मत पाएको छ । माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएको छ ।
प्रतिक्रिया