कृषि

गुल्मीको ‘भाडगाउँ’सुन्तलाका लागि प्रख्यात बन्दै



गुल्मी २१ मङ्सिर । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । गाउँभरी लटरम्म सुन्तला फलेका छन् । अहिले गाउँ नै सुन्तलामय छ । सुरुमा घरमा खानका लागि उत्पादन हुँदै आएको सुन्तलाले व्यावसायिक रूप लिँदै जान थालेपछि सुन्तला कृषक पनि बढेका छन् । थोरै मेहनत र एक पटक लगाएको बोटले वर्षौँसम्म उत्पादन दिने भएपछि दिनप्रतिदिन कृषकहरू यसप्रति आकर्षित हुँदै गएका हुन् ।
स्थानीय पदमलाल पाण्डे उमेरले ६८ वर्ष पुग्नुभयो । उहाँले सुन्तला उत्पादन गर्न थालेको २० वर्ष भयो । भाडगाउँको शिरमा रेसुङ्गा पर्छ । रेसुङ्गालाई सिद्धस्थानका रूपमा लिने गरिन्छ । “भाडगाउँको शिरमा बालासिद्ध भगवानको मन्दिर छ । यो सिद्धस्थान क्षेत्र हो ।” पाण्डेले भन्नुभयो,–“सिद्धस्थान क्षेत्रमा फलफुलको कमी हुनु हुँदैन भन्ने मान्यताले सुन्तला खेती गर्न सुरु गरेको हुँ ।”
उहाँका अनुसार साढे दुई लाख भन्दा बढीको सुन्तला बिक्री गर्नुहुन्छ । भाडगाउँका सुन्तला स्वादिला र रसिला हुने भएकाले यहाँको सुन्तलाको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएका सुन्तला ढोरपाटन, बुटवल, नारायणगढसम्म पुग्ने गरिन्छ ।
अर्का कृषक इन्द्रजङ्ग बस्नेतले १७ रोपनी जग्गामा सुन्तला खेती गर्दै आउनुभएको छ । उमेर ४५ वर्ष पुग्नुभएका बस्नेतले वार्षिक कुल ७ लाख भन्दा बढीको सुन्तला मात्र बिक्री गर्नुहुन्छ । बस्नेतको सुन्तला बगैंचामा ४ सय भन्दा धेरै सुन्तलाका बोटले उत्पादन दिन्छन् ।
अन्य किसानहरू खेत बहादुर खत्री, राधिका खत्री, थम्मनबहादुर खत्रीका अनुसार पनि सुन्तला उत्पादनले राम्ररी आम्दानी भइरहेको छ ।
सो क्षेत्रमा तीन सय भन्दा धेरै घरमा सुन्तलाको उत्पादन हुने गरेको वडाअध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक झण्डै डेढ करोडको सुन्तला त्यहाँबाट निकासी हुन्छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६