प्रदेश

विमानस्थलमा सुरक्षा चुनौती बढ्दै, समाधानको उपाए के ??



नेपालगञ्ज २५ मङ्सिर । कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् ।
धावनमार्गको चारैतिर झाडी र घाँसहरू भएकाले तारजाली फोडेर पनि समय–समयमा विभिन्न वन्यजन्तु विमानस्थलमा छिर्ने गरेका छन् । यसअघि केही महिनापहिले मात्र सीता एयरको जहाजमा तीनवटा बँदेल ठोक्किएका थिए । सो समयमा ठूलो दुर्घटनाबाट जहाज जोगिएको थियो । त्यसपछि पनि पटक–पटक कहिले खरायो त कहिले अन्य वन्यजन्तु धावनमार्गमा छिरेर समस्या हुने गरेको छ । विमानस्थलको धावनमार्ग वरिपरि रहेको घाँस र झाडी सफा नगरिँदा त्यहाँ बँदेल, स्याल, नीलगाईजस्ता वन्यजन्तु छिर्ने गरेको र उनीहरूले बासस्थान समेत बनाएको स्थानीय बासिन्दा बताउँछन् ।
गत मङ्गलबार पनि धावनमार्गमा एक्कासि नीलगाई छिरेपछि करिब पाँच घण्टा तनाव उत्पन्न भएको थियो । हवाई उडानहरू सुरु रहेकै बेला धावनमार्गको छेउमै नीलगाई पुगेपछि विमानस्थलमा खैलाबैला मच्चिएको थियो । नीलगाई धपाउन नेपाली सेना र प्रहरीलाई गुहारिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेशप्रसाद खनालले बताउनुभयो । सेना, प्रहरी र विमानस्थलका कर्मचारीले मिलेर करिब पाँच घण्टाको मेहनतपछि नीलगाईलाई विमानस्थलको क्षेत्रबाट बाहिर धपाउन सफल भएका थिए ।
विमानस्थल नजिकैका बासिन्दा दिनेश सेजुवालले कुनै घटना भएको बेला केही झाडी सफा र तारबार पनि जाँच गरिन्छ तर त्यसपछि कसैले कुनै वास्ता गर्दैनन् अनि वन्यजन्तुभित्र छिरेर धावनमार्गमा पुग्ने गरेको बताउनुभयो । काठमाडौँपछि अति व्यस्त रहने दोस्रो विमानस्थलका रूपमा चिनिने नेपालगञ्ज विमानस्थलको सुरक्षामा भने लापरबाही भइरहेको यात्रुहरूको गुनासो छ । पटक–पटक वन्यजन्तु धावनमार्गमा छिरेर जहाजमै ठोक्किए पनि त्यसको समाधान नगर्नु ठूलो लापरबाही भएको यात्रु प्रमोद थापाले गुनासो गर्नुभयो ।
तर, विमानस्थल प्रमुख खनालले बेला–बेलामा तारबार जाँच र मर्मत सम्भार हुने गरेको र झाडी तथा घाँस पनि सफा गर्ने गरिएको दाबी गर्नुभएको छ ।
नेपालगञ्ज विमानस्थल हुँदै अहिले दैनिक रूपमा काठमाडौँ र पोखराका लागि मात्रै १४ वटा ठूला जहाजले उडान भरिरहेका छन् । यसका साथै नेपालगञ्जबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि साना जहाजले दैनिक रूपमा करिब एक दर्जन जति उडान गरिरहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६