प्रदेश

लुम्बिनी सरकारः ५ वर्षमा एक खर्ब ४ अर्ब बजेट खर्च



बुटवल, २५ मंसिर ।

लुम्बिनीमा प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ४ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो ।

आर्थिक वर्ष २०७४-०७५ देखि २०७८-०७९ सम्मका तीन आर्थिक वर्षमा प्रदेश सरकारले १ खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये पुुँजीगततर्फ ८५ अर्ब १० करोड ८२ लाख २२ हजार ६०० रुपैयाँ र चालुतर्फको बजेट ६२ अर्ब ५१ करोड ४७ लाख ३२ हजार ४ सय रुपैयाँ विनियोजन भएको थियो ।

शंकर पोखरेल नेतृत्वको नेकपा एमालेको सरकारले आर्थिक वर्ष २०७४-०७५ देखि २०७७-०७८ सम्म साढे ३ वर्ष सरकार चलाएको थियो । २०७८ साउन २८ गतेयताका दुई आर्थिक वर्षमा माओवादी नेता कुलप्रसाद केसी नेतृत्वको पाँच दलीय गठबन्धन सरकार छ ।

पाँच आर्थिक वर्षमा औसत बजेट खर्च ७१ प्रतिशत रहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जसमा पुँजीगत खर्च ७१.५२ प्रतिशत र चालुतर्फ ७०.२५ प्रतिशत रहेको कार्यालयका तथ्यांक अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७४-७५ पहिलो वजेट एक अर्ब २ करोड ५ लाख रुपैयाँको थियो । आर्थिक वर्ष २०७५-०७६ मा २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको वजेट रहेको थियो । आर्थिक वर्ष २०७६- ०७७ मा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट थियो ।

अहिलेको सरकारले साविकका ९ वटा मन्त्रालय बढाएर १३ वटा पुर्‍याएको र मन्त्रिपरिषद ११ जनाबाट १७ सदस्यीय बनाएपनि बजेट खर्च भने झन् घटेको छ ।

चालु आर्थिक वर्ष ०७९-८० को पहिलो चौमासिकमा विकास बजेट ७ प्रतिशत पनि खर्च गर्न सकेको छैन । पहिलो चौमासिकको कात्तिक मसान्तसम्म जम्मा ६.९८ प्रतिशत मात्रै खर्च भएको छ ।

चालु वर्षमा प्रदेशको पुँजीगततर्फ २४ अर्ब ६३ करोड १९ लाख ५१ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्म १ अर्ब ७१ करोड ८७ लाख ९७ हजार ८ सय ७८ रुपैयाँ ५८ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ ।

प्रदेशको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेकोमा चौमासिकसम्ममा ३ अर्ब ७६ करोड ८० लाख ४१ हजार ९५ रुपैयाँ ५३ पैसा खर्च भएको छ ।

विकास निर्माणका काम सुरु हुने समय नभएको तथा निर्वाचनको कारण विकास खर्च कम भएको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए । ०७८-७९ को पहिलो चौमासिकमा चालुमा १२ दशमलब ९ र पूँजीगतमा २ दशमलव ८३ प्रतिशत खर्च गरेको थियो ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६