एजेन्सी, २८ मंसिर । अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् ।हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्व कप हुने बताएका हुन् ।
पाँचौँ पटक विश्व कप खेलिरहेका मेस्सीले एक पटक पनि विश्व कपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सीले अर्जेन्टिनाबाट विश्व कपमा सबैभन्दा धेरै ११ गोल गरेका छन् भने आउँदो फाइनलमा उनले विश्व कपमा आफ्नो २६ औँ खेल खेल्दैछन् । अहिलेसम्म विश्व कपमा २६ औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी बन्नेछन् ।
मेस्सीले अहिलेसम्म सात पटक बालेन डी ओर र एक पटक फिफा सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् । यसअघि सन् २०१६ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले त्यहाँका राष्ट्रपतिको आग्रहमा सन्यास फिर्ता लिएर पुनः खेलिरहेका छन् । सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको मेस्सीले एक सय ७२ खेलमा ९७ गोल गरेका छन् ।
प्रतिक्रिया