दिवाकर पोख्रेल
देउखुरी २८ मङसिर । प्रदेशसभाबाट निर्णय भई स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ तोकीएको लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीबाटै औपचारिक रुपमा कार्य शुभारम्भ गरेको छ । राप्ती उपत्यकाको मसुरीयामा रहेको मुख्यमन्त्रीको कार्यालय क्षेत्रमा बृहत् कार्यक्रमको आयोजना गरी प्रदेश राजधानी स्थान्तरण कार्यले औपचारिकता पाएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट सेवा प्रारम्भ एवम् मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको झन्डत्तोलन गरेपछि राजधानी स्थान्तरण कार्यले औपचारिकता पाएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबारको भव्य सामारोहले प्रदेशसभाको महत्वपुर्ण निर्णय कार्यान्वयन भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख शेरचनले प्रदेश सरकार र मुख्यमन्त्रीको कार्यालयबाट राजधानी स्थायी राजधानीमा ल्याई सेवा प्ररारम्भ थालेको प्रर्ति सरकारलाई धन्यवाद समेत दिनुभयो । उहाँले भन्नुभयो,‘अब लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको सवालले औपचारिकता पाएको छ, सरकारले प्रदेश सभाको महत्वपुर्ण निर्णय लागु गर्न सफल पनि भएको छ ।’ राजधानी कार्यान्वयनको सवालसंगै चुनौती पनि रहेको भन्दै प्रदेश प्रमुख शेरचनले सबैको भावना समेटेर अनुचित लाभ त्यागेर समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म सबैलाई विनम्र अनुरोध गर्दछु राजधानी आयो भनेर जग्गाको मोलमोलाई बढाउने र अनुचित लाभ लिन खोज्ने पनि हुन सक्छ यसले राजधानीको पूर्ण कार्यान्वयनमा चुनौती थप्छ सबै सजक बन्नुहोला ।’
यस्तै कार्यक्रममा निवर्तमान सभामुख पूर्णवहादुर घर्तिले लुम्बिनी प्रदेशको राजधानी नयाँ ठाउँ राप्ती उपत्यका देउखुरीमा राख्ने निर्णयले सबैको भावना समेटेको भन्दै अब सबै एकभएर यसलाई पूर्ण कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो । बैधानिक हिसावले राजधानी सम्बन्धि निर्णय भएकोले यसमा अनावश्यक विवाद आवश्यक नरहेको उहाँको भनाइ थियो । यस्तै लुम्बिनी प्रदेशका मुख्य सचिव डा.दिपक काफ्लेले राजधानी सम्बन्धि निर्णय प्रदेशसभाबाट पारित भएको र सरकारले कार्यान्वयन गरेकाले यसको पूर्ण कार्यान्यनमा कर्मचारीले दायित्व भएको बताउनुभयो । उहाँले राजधानीको लागि आवश्यक सबै पूर्वाधारयुक्त क्षेत्र रहेकाले यस्मा कार्यान्वयनमा समस्या नै नरहेको बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा स्थान्तरण गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद एवं बधाई ज्ञापन गर्नुभयो । उहाँले प्रदेश राजधानीको विषयमा आनावश्यक विवाद गरेर कार्यान्वयनमा आउदैन वा फेरी राजधानी अस्थायी मुकामै जान्छ भन्नु गलत भएको बताउनुभयो ।कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री कुलप्रसाद केसीले गर्नुभएको थियो ।समारोहमा दाङ देउखुरीकाका स्थानीयले कला संस्कृति देखीने २० वटा भन्दा झाँकी प्रस्तुत गरिएको थियो । नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश नम्बर ५ को प्रदेशसभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुइ तिहाई बहुमतबाट २०७७ अशौज २० गते राप्ती उयत्यका देउखुरीलाई प्रदेश नम्बर ५ को राजधानी र नेपालको संविधानको धारा २०५ को उपधारा २ बमोजिम प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश नामाकरण गरिएको थियो ।
प्रदेशसभाबाट लामो समय समम पारित भएपनि लामो समय स्थायी राजधानी स्थान्तरण हुन नसकेको गुनासो आएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकै सmित्रयतामा मुख्यमन्त्री तथा मन्त्रीपषिददको कार्यालय अस्थायी मुकाम बुटवलबाट देउखुरीमा स्थान्तरण गरिएको थियो । देउखुरी स्थित राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा प्रदेशसभाको भवन निर्माण गरिएको छ । मन्त्रालयहरू बसाल्नका लागि राप्ती प्राविधिक शिक्षालयलाई गढवामा स्थानान्तरण गरिएको छ । १८ विघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालयको परिसरमा ४० बढी साना–ठूला भवनहरू छन् । यही परिसर भित्र प्रदेश सरकारले राजधानीको प्रशासनिक केन्द्र निर्माण गरिएको छ ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रशासनिक परिसरभित्र प्रदेशसभा भवन, प्रदेशसभा सचिवालय र प्रदेश सरकारका मन्त्रालयहरू रहनेछन् । मुख्यमन्त्री र मन्त्रीपरिषद्का कार्यालयसहित आठ वटा मन्त्रालय यहाँ राखिनेछ । अन्य भने मन्त्रालय भने परिसर बाहिर राखिने छ । त्यस्तै संसदीय दलको कार्यालय पनि राखिने प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ । यसअघि दाङमा पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्थानान्तरण गरिएको थियो ।
२८ मंसिर २०७९, बुधबार
प्रतिक्रिया