प्रदेश

निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष चुनावको अन्तिम प्रतिवेदन पेस गर्ने



काठमाण्डौ २९ मंसिर – निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारीसमक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।
चुनाव–२०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरणसहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएका छन् । प्रदेश सभातर्फ ३ सय ५० जना पुरुष निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ९१ जना महिला र प्रदेश सभामा दुई सय जना महिला निर्वाचित भएका छन् ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६