काठमाण्डौ २९ मंसिर – बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गएको शुक्रवार चौधरी फिनल्यान्डकी राजदूत बन्नु भएको हो ।
बालिका तथा किशोरीको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गर्दै आएको छ । यसै अभियानलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत निरन्तरता दिइएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।
‘गर्ल्स टेक ओभर’ अभियान अन्तर्गत गएको २३ गते फिनल्यान्डकी राजदूत रिना रिक्का हेक्काले एक दिनका लागि बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरीलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको हो । उहाँले ‘गर्ल्स टेक ओभर’ अभियान बारे आफू निकै उत्साहित भएको बताउनुभयो ।
पद ग्रहण गरे पछि चौधरीले लैङ्गिक समावेशी शिक्षा, किशोरीले कसरी काम गर्न सकिन्छ, महिनावरीमैत्री शौचालय तथा स्यानिटरी प्याडको अभाव, लैङ्गिक विभेद, बालविवाह लगायतको किशोरी तथा बालिकाका विषयमा छलफल गर्नु भएको थियो ।
विश्वका धेरै देशमा ‘गर्ल्स टेक ओभर’ कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा सन् २०१७ देखि यो कार्यक्रम भइरहेको छ । प्लान इन्टरनेशनल नेपालले अहिलेसम्म काठमाण्डौसहित देशका १२ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
२९ मंसिर २०७९, बिहिबार








प्रतिक्रिया