प्रदेश

अब बन्ने सरकार पनि गठबन्धनकै बन्छ : मन्त्री भुसाल



नेपालगञ्ज १ पुस । ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले अहिलेको आवश्यकता नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार निर्माण हुने बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि बाँके पुग्नुभएकी मन्त्री भुसालले बिहीबार नेकपा माओवादी केन्द्र, नेपालगञ्ज नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।
अहिले धेरैको मनमा कस्तो सरकार बन्ने र कसको नेतृत्वमा सरकार गठन हुने भन्ने प्रश्न र आशङ्काहरू रहेको जनाउँदै उहाँले सरकार गठबन्धनकै बन्ने गरी जनताले जनादेश दिएकाले सोही बमोजिमको सरकार बन्ने बताउनुभयो ।
कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने सहमति रहेको जनाउँदै पहिले कुन दलको नेतृत्वमा गठन गर्ने भन्ने कुरा गठबन्धनमा रहेका दलहरूले संसदीय दलको नेता चुनिसकेपछि मात्रै तय हुने मन्त्री भुसालले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रकी उपमहासचिव समेत रहनुभएकी मन्त्री भुसालले माओवादी भित्र पनि पराजयको समीक्षा सुरु भैसकेको जनाउँदै अब सबै मिलेर पार्टीलाई नयाँ तरिकाले माथि उकास्ने काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले अबदेखि माओवादीमा टिके प्रथाको अन्त गरेर तलदेखि माथिसम्म हरेक निकायमा निर्वाचन गराइने र निर्वाचित हुनेले मात्र स्थान पाउने बताउनुभयो ।
उहाँले अब माओवादीको वडादेखि केन्द्रमा रहेका हरेक नेता कार्यकर्ताले आत्मसमीक्षा गरेर अगाडि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।
देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेकोप्रति पनि उहाँले सो अवसरमा चिन्ता प्रकट गर्नुभयो । भेटघाट कार्यक्रममा पार्टीका सबै कार्यकर्ताको प्रतिनिधित्व गर्दै स्थानीय नेताहरू वसन्त लामिछाने, टङ्क धामी, मन्दिरा पाण्डे, नन्दकिशोर कश्यप र शरिफ बागवानले नेत्री भुसालसँग निर्माचनको परिणाम र पार्टीको अवस्थालगायतका विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित : १ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६