प्रदेश

मुआब्जाका लागि जनप्रतिनिधिद्वारा किर्ते काम भएको आरोप



भैरहवा १ पुस । जग्गाको मुआब्जा बापतको करिब चार करोड रुपियाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारी समेत संलग्न भएको पाइएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको क्षेत्र अन्तर्गतको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको चार कट्ठा ४ धुर जग्गालाई भूमाफियाले नक्कली नाता प्रमाणित गराई अर्कैको नाममा नामसारी गरिदिएपछि यो रहस्य खुलेको हो ।
जग्गाधनी स्वर्गीय रामासरेको दुई वटी श्रीमती ९जेठी मालती भरिन र कान्छी फुलादेवी भरिन० रहेकोमा दुवै जनाको मृत्यु भइसकेको छ । उहाँहरूबाट कुनै सन्तान नभएको मौका छोपी सो जग्गाको मुआब्जा हत्याउन नक्कली नाता प्रमाणित गराई जग्गाको नामसारी समेत गरिएको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका –६ कि ७० वर्षीया तिर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजू नाता कायम गराई नामसारी गरेको पाइएको हो । हाल तिर्थी र उहाँको परिवार भने रामग्राम नगरपालिका –१७ मा बस्दैआउनुभएको छ ।
तिर्थी भरिनका छोरा राजुले स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरूको कुनै नाता सम्बन्ध नरहेको भन्दै आमालाई आर्थिक प्रलोभनमा पारेर जग्गा नामसारी गराएर मुआब्जा बापतको करोडौँ रकम भूमाफियाले कुम्ल्याउन खोजेको बताउनुभयो ।
“यसमा सात जनाको संलग्नता छ, सात जनाले वृद्ध आमासँग मुआब्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपियाँको कपाली तमसुक समेत गराएका छन्” उहाँले भन्नुभयो, “तमसुकमा उल्लेखित रकम दिनुपर्दा हामी सडकमा जानुपर्ने अवस्था आउँछ ।” तिर्थी भरिनको परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दैआएका छन् ।
साबिक भुजौली गाविस –७ मा पर्ने सो जग्गाको हक खाने कोही नभएको र यो जग्गा कानुन बमोजिम अपुताली भई नेपाल सरकारको नाममा जानु पर्नेमा करिब चार करोड रुपियाँ हात पार्न यस्तो खेल खेलिएको उहाँको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सो क्षेत्रमा प्रतिधुर चार लाख ५० हजार रुपियाँ मुआब्जा निर्धारण गरेको थियो । उक्त मूल्यअनुसार रामासरेको ००–०४–०४ धुर जग्गाको मुआब्जा रकम तीन करोड ७८ लाख रुपियाँ हुन्छ ।

प्रकाशित : १ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६