बुटवल २ पुस । सञ्चारिका समूह नेपालको आयोजना तथा आईपासको सहयोगमा पत्रकार महिलाहरुका लागि प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि तालिम बुटवलमा सम्पन्न भएको छ ।तलिमको शुक्रवार एक कार्यक्रमका बीच समापन गर्दै आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमल धमलाले समाजमा लिङ्गको आधारमा विभेद हटाउन अवस्था र व्यवस्थाबीचको खाडल पुर्नुपर्ने बताउनुभयो । देशको व्यवस्था उत्तम रहेपनि अवस्था उस्तै रहकाले परिवर्तनमा जोड दिनुपर्ने बताउनुभयो । “पात्र ठिकै छ पात्रो के हो के भन्ने छ, तसर्थ समस्या समाधानका लागि पात्र सहि हुनुपर्छ ”, उहाँले भन्नुभयो । महिलाले नेतृत्व गरेको संस्थामा अनियमितता, विवाद नहुने अध्ययनले नै देखाएको बताउँदै उहाँले अब महिलाहरु नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेतृत्व विकास गर्न सकिने विषय हो, नेतृत्व विकासका कार्यक्रम र अवसर प्रदान गरेर महिलाहरुलाई नेतृत्वमा ल्याउन सकिन्छ।।”
कार्यक्रममा सञ्चारिका समूह नेपालका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले लेखनसँगै नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो ।“अब पत्रकार महिला संवाददाता मात्र होइन सम्पादकीय भूमिकामा पनि आउनुपर्छ, त्यसका लागि हामीले क्षमता बढाउन र अवसर खोज्न आवश्यक छ”, उहाँले भन्नुभयो ।सञ्चारिका समूहका महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्याउन सस्थाले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले प्रदेशले पनि पत्रकार महिलाको क्षमत विकासका लागि प्रदेश अन्तर्गतका निकायसँग समन्वय गरी काम गर्दै आएको जानकारी गराउनुभयोे ।
तिन दिनसम्म सञ्चालन भएको तालिममा पहिलो दिन नेपाल चेकका सम्पादक दीपक अधिकारीले सम्पादकीय क्षमता, सम्पादक र संवाददाताबीचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।तालिमको दोस्रो दिन प्रेस काउन्सिलका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारीतामा महिला र नेतृत्व विकास र न्युज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौड्यालले नेतृत्व विकास, प्रजनन स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । तेस्रो दिन अधिवक्ता डा. सर्मिला श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य र कानुनी अधिकारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।पत्रकार महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा लुम्बिनी प्रदेशका २५ जना पत्रकार महिलाको सहभागिता थियो ।
प्रतिक्रिया