प्रदेश

नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल



काठमाण्डौ, ०२ पुष । संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो ।

चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ ।

संसद् बैठकमा सहभागी हुनुअघि नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि उनले अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित ज्येष्ठ सांसदको जन्ममिति खुल्ने कागजातसहितको विवरण बुझाउन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ ।

आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये ज्येष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन सचिवालयले आयोगलाई पत्राचार गरेको हो । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीन जना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपाका पशुपति शम्शेर जबराको उमेर ८० वर्ष पुगेको आयोगको विवरणमा उल्लेख छ । उमेरका हिसाबले तीन जनामध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । आयोगको विवरण अनुसार महिन्द्र राय यादवको उमेर ८५ वर्ष पुगेको छ । तर, आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाझिएको छ ।

यादवले नागरिकता बनाउँदा आफ्नो उमेर बढाइएको बताउनुभएको छ । यसअघि २०७४ सालको प्रतिनिधि सभामा पनि यादव उपस्थित नभएपछि महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा सांसदहरुको पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

आयोगले विवरण पठाएपछि त्यसको परीक्षण गर्ने र शपथ ग्रहणको कार्यक्रम राख्ने संसद् सचिवायलको तयारी छ । राष्ट्रपति कार्यालय र दलहरुसँग समन्वय गरेपछि सांसदहरुको शपथ ग्रहणको मिति तय हुने सचिवालयले जनाएको छ । सांसदहरुले शपथ लिएसँगै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । साभार

प्रकाशित : २ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६