काठमाण्डौ, ०५ पुस । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।
नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवम् माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिनुभयो ।
शपथपछि संसदीय दलको बैठक बस्ने उहाँको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उहाँको दाबी छ । ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको होु, उहाँले भन्नुभयो, ‘संसदीय दलको नेता प्रचण्ड नै हो ।’
सङ्घीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधि सभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधि सभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कुल ३२ सांसद छन् । केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो । रासस








प्रतिक्रिया