रुपन्देही ८ पुस । लुम्विनी प्रदेश सरकार गठनको सिंग्नल नआएपछि यहाका ठूलादलहरु अलमलमा परेका छन् । सरकार गठनकालागि दलको नेता छान्न कांग्रेस एमालेमा सकस देखा परेकोछ । लुम्बिनी प्रदेशमा कुनै दलको स्पष्ट बहुमत नभएपछि केन्द्रमा हुने गठबन्धन कुरेर दलहरू बसेका हुन् ।केन्द्रमा गठबन्धनको छिनोफानो नहुँदा प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू अन्योलमा देखिएका हुन् । ठूलो दल नेकपा एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादीभित्रै संसदीय दलको नेतृत्वको टुंगो लगाउन अहिले मुख्य नेताह केन्द्रमा धाइरहेका छन् ।प्रदेशस्तरका नेताहरू केन्द्रको निर्देशन कुरेर बसिरहेका छन् भने अहिलेसम्म दलहरूले संसदीय दलको नेताको टुंगो लाग्न सकेको छैन । एमाले र नेपाली कांग्रेसमा दलको नेताको लागि ४(४ जना आकांक्षी छन् भने माओवादी केन्द्रमा पनि टुंगो लागेको छैन ।
पहिलो दल एमालेमा लीला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठले संसदीय दलको नेतामा दाबी गरेका छन् । कांग्रेसमा डिल्ली चौधरी, अब्दुल रज्जाक, वीरबहादुर राना र राजु खनाल आकांक्षी छन् ।माओवादीमा जोगबहादुर महरा संसदीय दलको नेता निश्चितजस्तै भए पनि सो पार्टीबाट विद्रोह गरेर जितेका ३ स्वतन्त्र सांसदलाई भित्र्याउन फकाइरहेका छन् ।अहिलेसम्मको तयारीमा सत्तारुढ गठबन्धन नै सरकार गठनमा अग्रसर भएका छन् । तर, बहुमतका लागि ३ सांसद पुग्दैन । गठबन्धन नभत्किँदासम्म एमाले पर्ख र हेरको अवस्थामा छ ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक पर्छ । प्रत्यक्ष र समानुपातिकतर्फ ठूलो दल बनेको एमालेका २९ सांसद छन् भने चुनावमा एमालेसँग सहकार्य गरेको राप्रपासँग ४ र जसपासँग ३ सांसद गरी जम्मा ३६ सांसद रहेका छन् । सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसका २७ र माओवादी केन्द्रका ९ सांसद छन् । जनमोर्चा र नेकपा एससँग एक एक गरी दुई सांसद र लोसपासँग ३ सांसद गरी ४१ सांसद पुग्ने अवस्था छ । ३ सांसद रहेको जनमत पार्टी र ३ सांसद रहेको नागरिक उन्मुक्तिलाई मनाउन सत्तारुढ दलले छलफल चलाएपनि माथिको निर्णय कुरेर बसेका छन् ।
कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार बन्ने गरी अनौपचारिक छलफल भएपनि केन्द्रबाट स्पष्ट कुरा नआएकाले कुरेर बसेको बताए । माओवादी केन्द्रका नेता सुदर्शन बराल कसलाई साथ लिएर अगाडि जाने सन्दर्भमा अनौपचारिक छलफल भए पनि केन्द्रको निर्णयमा भर पर्ने सुनाउँछन् । यहाँ गठबन्धनबाट कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्री दाबी गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाकले पनि गठबन्धनको सरकार बन्ने अवस्थामा आफूहरूले मुख्यमन्त्री दाबी गर्ने बताए ।‘विगतमा माओवादीलाई मुख्यमन्त्री छाडेका थियौं, यसपटक हाम्रो दाबी स्वभाविक रहन्छ’, उनले भने ।अहिले प्रमुख प्रतिपक्षमा रहेको एमालेले भने सरकार गठनका लागि भन्दा पनि संसदीय दलको नेता कसलाई बनाउने भन्नेमै बढी चासो दिएको छ । एमाले नेता तथा पूर्वमन्त्री चेतनारायण आचार्यले एमाले पहिलो दल भएपनि पहिलो चरणमा एमालेसँग बहुमत नभएकाले सरकार गठनमा ध्यान नदिएको बताए ।
केन्द्रको राजनीतिक समीकरण आफूहरू अनुकूल भए आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने पूर्वमन्त्री तथा सांसद लीला गिरी बताउँछन् ।‘यदि अवस्था हाम्रो अनुकूल भयो भने हाम्रो नेतृत्वमा अन्य दललाई मिलाएर सरकार बनाउने प्रयास हुनेछ ’, उनले भने ।स्वतन्त्रको साथ लिएर गठबन्धनको सरकार बन्ने सम्भावना प्रबल छ । जनमत पार्टी पनि सरकारमा जानसक्ने बताउँदै आएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले केन्द्रीय नीतिअनुसार अघि बढ्ने बताए ।
प्रतिक्रिया