जीवनशैली

बर्दियाका मिर्गौलापीडितले अझै पाएनन् डायलासिस सेवा



बर्दिया ८ पुस । बर्दियाको मधुवन नगरपालिका–४ की मिर्गौलापीडित हरिराम चौधरीलाई हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ। उहाँ डायलासिसका लागि नेपालगञ्ज मेडिकल कलेज रहेको कोहलपुरमा कोठा भाडा लिएर बस्दै आउनुभएको छ। गुलरिया नगरपालिका–२ की मिर्गौलापीडित पवित्रादेवी सुवेदी हप्तामा दुई पटक डायलासिस गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुर धाउनुहुन्छ।
त्यस्तै बारबर्दिया नगरपालिका–६ का कृष्णबहादुर सुनारको मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस तीन वर्षअघिदेखि हप्तामा दुई पटक डायलासिस सेवा लिइरहनुभएको छ। उहाँ पनि उपचारका लागि कोठा भाडा लिएरै कोहलपुरमा बस्दै आउनुभएको छ। घरदेखि टाढा कोठा भाडा लिएर उपचारका लागि बस्नु पर्दाको पीडा भनिसाध्य छैन।
मिर्गौलापीडित चौधरी, सुवेदी र सुनारजस्तै बर्दियाका अन्य बिरामी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पताल नेपालगञ्ज, भारतका बहराइच र लखनउलगायत काठमाडौँ र अन्य स्थानका अस्पतालमा धाउन बाध्य छन्। बर्दियामा ८७ जना मिर्गौलापीडित रहेका छन्। ती सबै बिरामी जिल्लाभित्रै डायलासिसको सुविधा नहुँदा टाढा तथा बाहिरका अस्पतालमा उपचार गराउन बाध्य छन्।
बर्दियामा मिर्गौलाका बिरामीको सङ्ख्या धेरै भए पनि डायलासिसको सुविधा छैन। सहजै उपचार सम्भव नभएपछि पीडितहरू जीवन र मरणको दोसाँधमा छन्। मिर्गौलापीडित पवित्रा सुवेदीले भन्नुभयो, “उपचार सहज छैन, उपचारका लागि जिल्लाबाहिर जानुपर्छ।”
बर्दिया अस्पताल विकास समिति अध्यक्ष नारायण गौतमले डायलासिस सेवा सञ्चालन गर्नका लागि निर्णय गरेर लुम्बिनी प्रदेश सरकारसँग मेसिनको माग गरेको बताउनुहुन्छ। लुम्बिनी प्रदेश सरकारले पाँचवटा डायलासिस मेसिन दिने निर्णय गरिसकेकाले अब छिट्टै बर्दिया अस्पतालबाट नै डायलासिस सेवा उपलब्ध हुने उहाँले बताउनुभयो। जिल्लामै सो सेवा सुरु गर्न सकिएमा मिर्गौलापीडित बिरामीको उपचारमा सहज हुने र बाहिर बस्दा हुने खर्चमा कमी हुने अध्यक्ष गौतमको भनाइ छ।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६