काठमाडौं, पुस १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा संगै जाने सहमति तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको गुनासो गर्नुभएको छ ।
सत्ता गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि नेपालले आफूहरुलाई कांग्रेस र माओवादी दुवै पक्षबाट धोका भएको भन्दै बैठकमा यस्तो धारणा राख्नुभएको हो ।नेकपा एमालेका बरिष्ठ नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानकै लागि अध्यादेश ल्याएर एमाले बिभाजन गरी पार्टी दर्ता गर्नुभएको थियो । पछिल्लो घटनाक्रममा कांग्रेसले अपमान गरेको बताउँदै नेपालले बैठकमा प्रचण्डबाट पनि धोका भएको गुनासो गर्नुभएको हो ।एमाले र माओवादीबीच सत्ता गठबन्धन भएपछि नेकपा एकीकृत समाजवादी पार्टी निकै मर्मामत बनेको तथ्य पनि नेपाल स्वयंले खोल्नुभएको छ । चुनावमा ठूलो दल बनेपछि देउवा कसैको कुरा सुन्ने अवस्थामा नरहेको र आफ्नो कुरा सवैले मान्नुपर्ने जसरी उर्दी गर्न थालेको घटना पनि नेपालले सुनाउनु भएको छ ।
यस्तो छ बालकोटबारे माधवको कुरा
देउवाले अपमान गरेपछि प्रचण्डजी र मबीच हामी पनि पीडित उहाँहरु पनि पीडित, हामी पनि केपी शर्मा ओली पीडित, उहाँहरु पनि पीडित । पीडित पीडित एकै स्थानमा भएपनि विद्रोह गरिहाल्नुपर्छ भन्नेभयो । बालुवाटारमा बसेर एकछिन कसरी अघि जाने भन्ने विषयमा कुराकानी भयो । उहाँले के भन्नुभयो भने,’तपाईं, म र केपी ओली छुट्टै बसेर कुराकानी गरौं, कुरा गरेर नयाँ ढंगले अघि बढौं ।’ मैले हुन्छ भनें ।’ मिलेर फेरि केपी शर्मा ओलीसँग कुरा गरौं भनेको हो । उहाँले हुन्छ भन्नुभयो ।त्यो भनेर म पार्टी अफिसमा आएँ, कुरा गर्नुपर्यो भनेर तुरुन्तै अपर्झट बैठक बोलाएँ । प्रचण्डसँगै बालकोट जान तयार भएर बसें, तुरुन्तै रवि लामिछानेलाई फोन गरे, राजेन्द्र लिङदेनलाई फोन गरे, उपेन्द्र यादवलाई फोन गरेर भनें– बसेर कुरा गरौं । यादवजीले म आउँछु भन्नुभयो । राजेन्द्रजीको फोन उठेन, रवि लामिछानेले म बालकोट लाग्दैछु कमरेड भन्नुभयो, बालकोटले तानिहालेछ भन्ने लाग्यो मलाई, ठिकै छ बस्नुस् भनेँ । तर प्रचण्डजी त मलाई पत्तै नदिई एक्लै बालकोट पुग्नुभएछ । त्यहाँ सहमति भइसकेको कुरा देउवाकै फोनबाट पत्ता लाग्यो । ठ्याक्क चार बजे शेरबहादुरजीको फोन आयो । ’माधवजी, तपाईंले प्रचण्डजीलाई तुरुन्त फोनगरेर पहिलो प्रधानमन्त्री तपाईं हो भनिदिनुपर्यो’ भन्नुभयो । समय बितिसकेपछि, घर्की सकेपछि, हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेलामा तपाईंले भनेर के हुन्छ ? समयमा बुद्धि पुर्याउनुछैन’ भनेर मैले भने ।








प्रतिक्रिया