बाँके १५ पुस । बाँकेमा करिब तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएका छन् । नेपालगञ्जको जमूनाह नाका परीक्षणकाक्रममा भारतबाट फर्कदैंगरेकी जाजरकोटकी ३० बर्षीया महिलामा कोभिड सङ्क्रमण देखिएको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीका अनुसार असोज १ गतदेखि बाँकेमा कोभिड–१९ का सङ्क्रमित फेला परेका थिएनन् । आज फेला परेपछि यो पहिलो पटक हो । कोभिड सङ्क्रमण रोकिएपछि सीमामा स्वास्थ्य परीक्षण हुन छाडेकोमा पछिल्ला केही दिनदेखि फेरि स्वास्थ्य परीक्षणमा ध्यान दिन थालिएको छ ।
तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएपछि जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको बैठक बिहीबार बसेको छ । बैठकमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चाल्ने निर्णय भएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय गर्दै बैठकले स्वास्थ्य मापदण्ड पालनाका लागि आम नागरिकमा आग्रह गरेको छ ।
“जिल्लामा कोभिडको बुस्टर डोज अभाव भएकाले केन्द्रमा माग गर्ने निर्णय भएको छ” , जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति वलीले भन्नुभयो, “आम नागरिकमा समेत सचेतना अपनाउन अपिल गरिएको छ ।”
स्थानीय तहहरूले समेत स्थानीयस्तरमा कोभिडविरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्य मापदण्ड पालनाका लागि अभियान सञ्चालन गर्ने भएका छन् ।
१५ पुस २०७९, शुक्रबार
प्रतिक्रिया