प्रदेश

पाल्पाको काउले डांँडा गाउँमा वार्षिक दुई करोडको अम्रिसाको कुुचो उत्पादन




पाल्पा, १६ पुस ।
पाल्पाको निस्दी गाउँपालिकास्थित काउले डांँडा गाउँमा वार्षिक दुई करोडको कुचो (अम्रिसाको कुुचो) उत्पादन हुने गरेको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडाबासीको जीवनस्तर नै अम्रिसो खेतीले फेरिदिएको छ । यहाँको २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसो खेतीबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान बदलिएको छ ।

गत आर्थिक वर्षमा कुचो बेचेर यहाँका बासिन्दाले २ करोड रकम आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय रामबहादुर पाटाले बताउँछन् । पछिल्लो समय काउले डाँडाको अम्रिसो खेती हेर्न आउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ । यो स्थान जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पूर्वमा पर्दछ ।

काउले डाँडा आम्दानीको स्रोत मात्रै नभएर आन्तरिक पर्यटनको मुख्य आकर्षण केन्द्र समेत बनेको छ । हिजोआज यस ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । घुम्न आउने धेरैले इलामको चिया बगन जस्तै देखिने बताएका छन । काउले डाँडामा आएपछि अम्रिसोको संसार देख्न पाइन्छ । जतासुकै अम्रिसो नै अम्रिसोको घारीले ढाकेको छ । यहाँबाट उत्तरतिर हेर्दा माछापुच्छ्रे , धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला देख्न पाइन्छ । दक्षिणमा तराईको समथर भू(भागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्रसम्म देख्न सकिन्छ ।

काउले डाँडा जाँदा बाटैमा पर्ने खादरको कुँडुले घर तथा आसपासको मगर बस्तीले समेत सबैको मन लोभ्याउने गरेको पाइन्छ । विशेषगरी दशैं तिहार र हिउँदको समयमा यहाँ घुम्न आउनेको भिडभाड हुने गरेको स्थानीय वीरबहादुर पाटाले बताए । आन्तरिक पर्यटक छिमेकी जिल्ला तथा पालिकाहरुबाट दिनहुँ जसो आउने गर्दछ । शनिबार तथा बिदा परेको बेला एकै दिनमा दर्जनभन्दा बढी बसमा घुम्न र बनभोज खाना आउने गर्दछन् ।

यहाँ घुम्न आउनेहरुको लागि व्यवस्थापनको जिम्मा इन्द्रेणी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झिरुबासले लिएको छ । सहकारीले टिकट काट्न र अन्य व्यवस्थापनको लागि कर्मचारी राखेको छ । यहाँ घुम्न आउँदा बसको १ हजार रुपैयाँ लिने गरिन्छ । जीपको ५ सय र मोटरसाइकलको ५० रुपैयाँ र प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क लिने गरिन्छ । निस्दीको मात्र नभएर जिल्लाकै पर्यटन क्षेत्रको आकर्षण केन्द्र काउले डाँडा पहिले नाङ्गो डाँडा थियो ।

विक्रम सम्बत २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्रिसो लगाएको काउले डाँडा कबुलियती वन अन्तर समूहका अध्यक्ष दमनसिंह थापाले बताए । शुरुमा १ सय १५ हेक्टर क्षेत्रमा २ सय १५ घरधुरी मिलेर अम्रिसो लगाएको अध्यक्ष थापाको भनाइ छ । हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । झिरुबासका २ सय २७ घरधुरी आवद्ध रहेका छन । विभिन्न १८ वटा उप समूह मिलेर काम गर्दै आएको छ । पर्यटकको आकर्षण बढाउनको लागि मन्दिर तथा ठाउँ–ठाउँमा प्रतिक्षालय बनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा ५ सय जना क्षमता भएको सभाहल सहितको कुँडुले घर बनाइएको छ ।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६