प्रदेश

लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ



दाङ, १७ पुस ।
लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् । स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको बैठकका लागि प्रदेश सरकारको १० करोड रुपैयाँभन्दा बढी लागतमा देउखुरीमा बनाएको भवनको अधिकांश काम सकिएको छ । अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम चरणमा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६