अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सभाको अधिवेशन : संसदीय दलका नेताले संवोधन गर्दै के भने ?




दाङ १८ पुस । लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो दिन दुई बैठक सम्पन्न भएका छन् । सोमबारदेखि सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो ।बैठकमा बोल्दै प्रदेश प्रमुख शेचरनले प्रदेशसभाको पहिलो कार्यकालले लुम्बिनी प्रदेशमा सफलतापूर्वक धेरै काम गरेको बताए ।
उनले सरकारले राजधानी व्यवस्थापन गर्नेदेखि विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहतका विषय उल्लेख गर्दै सरकारका कामको प्रशंसा गर्दै अबको अधिवेशन पनि त्यही गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।सोमबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ । बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलहरुले शुभकामना व्यक्त गर्दै अबको ५ वर्षको कार्यकाल पनि उत्कृष्ट बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकाल बुटवलमा बितेको र त्यसमा संरचनाविहीन अवस्थाको प्रदेशलाई स्थापित गर्न स्थानीय संघ संस्थाले गरेको सहयोगको चर्चा गरे । उनले बुटवलका संघसंस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेशसभाले कहिल्यै भुल्न नहुने बताए ।बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल चूनौतीपूर्ण रहेको बताए ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पुरा गर्न सफल हुने विश्वास व्यक्त गरे । प्रदेशसभामा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकिकृतकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाले तारा थापाले बोलेका थिए । अधिकांश वक्ताको आगामी प्रदेशसभाको कार्यकालले प्रदेशसभाप्रतिको वितिष्णा अन्त्य गर्नेमा ध्यान पुग्नु पर्ने र कानुन निर्माणमा जोड दिनु पर्ने बताएका थिए ।
प्रदेशसभाको पहिलो बैठक र दोस्रो दुवै बैठक प्रदेशसभाका जेष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा बसेको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन भित्र प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नु पर्ने कानुनी व्यवस्था छ । प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने जेष्ठ सदस्य भुसालले बताए । लुम्बिनी प्रदेशसभाका १० दलको सहभागिता रहेको छ ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६