प्रदेश

३ दशकअघि बनेको प्राविधिक शिक्षालयमा लुम्बिनी प्रदेश राजधानी : विद्यार्थी समस्यामा



बुटवल २२ पुष । लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका कारण त्यहाँ अध्ययनरत झण्डै एक हजार प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन् ।
केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै आफ्नो काम गर्न थालिसकेको छ । गत आइतबार शपथ भएर सोमबारबाट प्रदेश सभा अधिवेशन पनि सुरु भइसकेको छ ।
दुई वर्ष अघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि राप्ती प्राविधिक शिक्षालयमा राजधानीका पूर्वाधार बनाउने निर्णय भयो ।
राजधानीको संरचना रहने भएपछि तीन दशकअघि लालमटियामा स्थापित राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिका ३ मा ल्याइएको हो । गत तिहार र छठपछि शिक्षालयले आफ्नो कक्षा यहीँबाट चलाएको छ ।
व्यवस्थित संरचनाबाट नयाँ ठाउँमा आउँदा शिक्षालयका विद्यार्थीहरुले असहज मानिरहेका छन् । राप्ती प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुकुमका अनिलकुमार बुढाथोकीले नयाँ ठाउँमा प्राक्टिकल गर्न समस्या रहेको बताए । “झण्डै तीन वर्ष त्यहाँ बसियो । अहिले यता आइएको छ । सबै संरचना बनिसकेको छैन”– उनले भने, “त्यहाँ विषय अनुसारको संरचना सेट भइसकेको थियो । त्यसै आधारमा हामीले प्राक्टिकल गर्थ्यौं। अब प्राक्टिकल गर्न समस्या छ ।”
लालमटियामा पूर्वपश्चिम राजमार्गसामुन्ने नै प्राविधिक शिक्षालय रहेको थियो । अहिले स्थानान्तरण भएको ठाउँ राजमार्गबाट अलि दक्षिण पर्दछ । लालमटियाबाट राजमार्ग हुँदै पाँच किलोमिटर पश्चिम गएपछि सिसहनिया बजार आउँछ । सिसहनिया बजारबाट राजमार्ग छोडेर दक्षिण लागि सात किलोमिटर दूरीमा शिक्षालय आउँछ ।
यहाँ आउन नेपालकै दोस्रो लामो राप्ती पुल तर्नुपर्दछ । ग्रामीण क्षेत्र भएकाले गढवाका घरहरु व्यवसायिक प्रायोजनमा लगाउने गरी बनाइएका छैनन् । राजमार्ग क्षेत्रबाट तुलनात्मक रुपमा पर र ग्रामीण क्षेत्रमा आउँदा कोठाको पनि समस्या रहेको डिप्लोमा इन इन्जिनियरिङ छैटौँ सेमेष्टरकी एलिना पोखरेलले बताइन् ।
लालमटियामा प्रदेश सरकार र सभाले काम सुरु गरिसक्दा यता गढवामा शिक्षालयका सबै सामान सेटअप भइसकेका थिएनन् । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले अहिले सामान व्यवस्थापन भइरहेकाले अबको दुई महिनामा संरचना तयार हुने बताए ।
डाँगीले पठनपाठनलाई प्रभाव नपर्ने गरी मर्मत र सेटअपको काम भइरहेको बताउनुभयो । २०५० सालमा स्थापित राप्ती प्राविधिक शिक्षालयमा अहिले ७९२ विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ । कोरोनाका कारण बीचमा परीक्षा नियमित नहुँदा हाल एक हजारभन्दा बढी विद्यार्थी छन् ।
शिक्षालयमा कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्यका प्राविधिकतर्फ नौ वटा कार्यक्रम छन् । जसमध्ये ६ वटा डिप्लोमाका र तीनवटा प्री–डिप्लोमाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख डाँगीले जानकारी दिए ।
राप्ती प्राविधिक शिक्षालय सिटिइभिटीइको आंगिक शैक्षिक संस्था हो । शिक्षालयको स्थानान्तरका लागि प्रदेश सरकारले खर्च बेहोरेको छ । गढवा गाउँपालिका–३ मा सरस्वती माध्यमिक विद्यालयको नाममा १८ बिघा जग्गा रहेको छ । अहिले सबै जग्गा विद्यालयको नाममा रहेपनि संघीय शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट राप्ती प्राविधिक शिक्षालयले १४ विघा जग्गाको भोगाधिकार पाएको छ ।
विद्यालयले चार विघा जग्गा उपयोग गरेको छ । सरस्वती मावि भवन प्रविधिक शिक्षालयले उपयोग गरेपछि गाउँपालिकाले बनाएको अस्थायी भवनमा विद्यालय सञ्चालन भएको छ । स्थायी भवन निर्माण पनि सुरु भएको छ । शिक्षालय प्रमुख शालिकराम डाँगीले नयाँ गुरुयोजना पनि बनेकाले केही वर्षमा गढवामा लालमटियाको भन्दा आधुनिक र व्यवस्थित संरचना बन्ने बताए ।

प्रकाशित : २२ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६