काठमाडौं, २३ पुस । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकीकरण हुने भएको छ ।
छिट्टै पार्टी एकीकरण हुने विषयमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा झन्डै १ घण्टा छलफल भएको थियो । दुई पार्टीबीचमा एकता गर्नेबारेमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल भएको नेसपाले जनाएको छ ।
शनिवार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको छ । एकतापछिको पार्टीमा अध्यक्ष भट्टराईको स्थान कुन रहन्छ भन्नेबारेमा अहिले निर्क्यौल भइसकेको छैन ।
एकतापछिको पार्टीको नाम के राख्नुपर्छ भनेर नेसपाको तर्फबाट प्रस्ताव गरेपनि पछि छलफलबाट टुङ्गो लाग्ने र पार्टी एकताका लागि एउटा कार्यदल बन्न सक्नेछ ।
शनिवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग नेसपाका अध्यक्ष बाबुराम भट्टराई नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डे सहभागी भएका थिए । नयाँ संविधान जारीपछि माओवादी केन्द्र छोडेर डा. भट्टराईले २०७३ जेठ ३० गते दशरथ रंगशालामा सभा गरेर नयाँ शक्ति पार्टीको घोषणा गर्नुभएको थियो ।
२०७६ साल बैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा उपेन्द्र यादवसँगपनि छुट्टिएर भट्टराइले नेपाल समाजवादी पार्टी गठन गर्नुभएको थियो ।








प्रतिक्रिया