जीवनशैली

दादुराका बिरामी दिनहुँ बढ्दै



नेपालगञ्ज २५ पुस । नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुरा महामारी अब जिल्लाका अन्य पालिकामा पनि फैलिन थालेको छ। नेपालगञ्जपछि खजुरा गाउँपालिकाका बालबालिकामा दादुरा देखा परेको छ। हालसम्म ६३ जना बालबालिकामा दादुरा पुष्टि भएको र सो रोगबाट नेपालगञ्ज–५ का एक बालकको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
एक साताअघि नेपालगञ्ज–७ का चार जना बालबालिकामा देखिएको दादुरा अहिले नगरका विभिन्न वडामा फैलिएपछि ६२ जना बालबालिकामा र खजुराका एक बालकमा पनि पुष्टि भएर ६३ पुगेको छ। नेपालगञ्ज, खजुरा र कोहलपुरलगायतका क्षेत्रमा अझै पनि धेरै बालबालिकालाई ज्वरो आउने तथा शरीरमा बिमिरा निस्कने लक्षण देखिएकाले दादुरा प्रभावितको सङ्ख्या बढ्ने आशङ्का गरिएको स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले बताउनुभयो।
दादुरा तीव्र गतिमा फैलिरहेको पाइएको जनाउँदै उहाँले नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको बताउनुभयो। खोप फोकल पर्सनसमेत रहनुभएका अधिकृत श्रेष्ठले दादुरा फैलिएको नेपालगञ्ज–५, ७ र ८ मा खोप अभियानलाई तीव्र पारिएको जानकारी दिनुभयो।
दुई दिनमा ती वडाका एक हजार तीन सयभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको छ। दादुरा देखिएका अन्य वडा र अन्य पालिकामा समेत खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सो कार्यालयका अनुसार दादुरा भेटिएका ६२ जना बालबालिकाको स्वास्थ्यकर्मीको निगरानीमा घरमै राखेर उपचार भइरहेको छ। तीमध्ये अधिकांशको स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ। उपमहानगरभित्रका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाको पहिचान गर्ने र खोप लगाउने कार्यलाई तीव्रता दिइएको नेपालगञ्ज उपमहानगरले जनाएको छ।
उपमहानगर स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार नगरका विभिन्न वडामा स्वास्थ्यकर्मी परिचालन गरेर शङ्कास्पद बिरामीको खोजी गर्ने, परीक्षण तथा परामर्श दिने कार्य निरन्तर जारी रहेको बताउनुभयो। प्रमुख चन्दले नेपालगञ्जका २३ वटा वडामध्ये १० वटा वडामा दादुरा फैलिएको बताउनुभयो।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६