पार्वती पाण्डे
कपिलवस्तु २७ पुस ।कपिलवस्तुको जनसेवा सहकारी किसानको आफ्नै भकारी बन्न पुगेकोछ । किसानलाई बीउ उत्पादन गर्न बीउ दिने र त्यसवाट उत्पादीत बीउ खरिद गरेर प्रशोधन गर्ने कामको भरपर्दाे सारथी जनसेवा भएपछि यो किसानको आफ्नै भकारी बन्न पुगेको हो । कपिलवस्तुमा सहकारी स्थापनाका हिसाबले जेठो मध्येमा पर्ने जनसेवा वहुमुखी सहकारी संस्था पछिल्लो समय उत्पादन र रोजगारीको केन्द्र बन्न सफल भएको छ । वचत तथा ऋणको कारोवारसँगै विउ विजन उत्पादन प्रशोधन तथा वितरण र मलखाद लगायतको वितरणबाट उत्पादन र रोजगारीमा अब्बल बन्दै गएको हो ।
किसानलाई विउ उत्पादनका लागि खेती गर्न सघाउने उनीहरुले उत्पादन गरेको विउ खरीद गर्ने सो को प्रशोधन पश्चात लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा वितरण गर्ने काम जनसेवाको प्राथमिकतामा पर्ने गरेको हो ।बाणगंगाको ४ मा रहेको जनसेवा वहुमुखी सहकारीले उत्पादनमा जोड दिई रोजगारी सृजना गर्दै आएको छ । सहकारीले गुणस्तरिय धान र गहुँको विउ उत्पादन गरि प्रशोधन , भण्डारण गरि खाद्यान्न वृद्धि गर्न कृषकहरुलाई सहयोग गर्दै आइरहेको छ । संस्थालाई आर्थिक रुपले दरिलो बनाउन विउ विजन केन्द्र सञ्चालनमा ल्याएको छ । किसानहरुलाई औषधी र साना औजारमा ५० प्रतिशत अनुदान दिइएको संस्थाका अध्यक्ष द्रोण सुबेदीले बताउनु भयो ।
त्यस्तै गरि किसानहरुलाई निःशुल्क प्राविधिक सेवाका लागि कृषि प्राविधिक प्रमुख दुर्गा घिमिरेलाई नियुक्त गरि सेवा प्रवाह गरिएको , अध्यक्ष सुबेदीले बताउनु भयो । अहिले सम्म करिब २ सय किसानलाई निःशुल्क प्राविधिक सेवा दिइएको छ । सहकारीले प्रजज्नन विउ कृषि फर्मबाट ल्याएर किसानलाई उपलब्ध गराउने र उक्त उत्पादित विउ संस्थाले खरिद गर्ने गरेको छ। सहकारीले कृषि विज्ञले उत्पादन गरेको धनुषा हर्दिनाथ कृषिफर्मबाट धानको विउ र भैरहवा गहुँवाली कार्यक्रमबाट गहुँको विउ ल्याउने गरेको छ ।
सहकारीले किसानलाई रासायकिन मल पनि उपलब्ध गराउदै आएको छ । संस्थाले रेमिटान्सको सेवा , वचत किसानलाई सहुलियत दरमा ऋण प्रदान गर्दै आएको छ । सहकारीले सञ्चालन गरेको विज वृद्धि कार्यक्रम अन्तरगत वीउ विजन प्रशोधन केन्द्र सञ्चालनमा रहेको भवनमा कृषकहरुबाट आएको धानलाई प्रशोधन गरि विउका लागि योग्य नभएको धानलाई चामल बनाई विक्री गर्न मिल जडान गरि सञ्चालन गरिएको छ । सहकारीले सञ्चालन गरेको वीउ विजन प्रशोधन केन्द्र अन्तरगत विज वृद्धि कार्यक्रम सञ्चालनको निरन्तरताका लागि जमिनको छनौट गरि करिब ७० बिगाहा जमिनमा धानको विउ उत्पादनका लागि कृषकहरु छनौट गरि धान रोपाई कार्य गर्न सहयोग गरिएको संस्थाले जनाएको छ । २०५० सालमा ३० जना सहकारीकर्मीहरुको पहलमा स्थापना भएको सहकारीमा हाल ११ सय ७१ शेयर सदस्य रहेका छन ।जसमा ५ सय ७७ पुरुष र ५ सय ९४ महिला रहेका छन ।
सहकारीको चुक्ता शेयर पुँजी ३ करोड ६९ लाख ३६ हजार रहेको छ । त्यस्तै संस्थाको कुल कर्जा लगानी १६ करोड ७५ लाख र कर्जा असुली १४ करोड ६२ लाख रहेको छ । निक्षेप तर्फ २२ करोड ७८ लाख प्राप्ती भएको छ भने निक्षेपको भुक्तानी तर्फ २४ करोड ६९ लाख ५१ हजार भएको छ । संस्थाले यस वर्ष ७२ लाख ६१ हजार मुनाफा आर्जन गरि ३ लाख ६३ हजार कर समेत तिरेको छ । जसबाट खुद वचत ६९ लाख ६ हजार वचत भएको संस्थाका कोषाध्यक्ष दोलख वहादुर पछाईले बताउनु भयो ।
प्रतिक्रिया