प्रदेश

दाङको लमही नगरपालिकाको पुलमुनि रातभर ट्याक्टरको लाम, संबधित निकाय मौन



देउखुरी २७ पुस । दाङको लमही नगरपालिका–८, कालीपुरुवामा भर्खरै निर्माण सम्पन्न पुलमुनि रातभर ट्याक्टरको लाम हुन्छ । पुलमुनि बालुवा उत्खनन गरी ढुवानी गर्नका लागि यसरी ट्याक्टर लाम लाग्ने गरेका हुन् । केही ट्याक्टरले नदीको किनारमा बालुवा थुपार्छन् भने बाँकी ट्याक्टर बालुवा बोकेर ठाउँठाउँ पुग्छन् ।
स्थानीयहरू ट्याक्टरको रातभरको आवाजले निदाउन पाउँदैनन् । नदीजन्य पदार्थको उत्खननमा निर्माण व्यवसायीदेखि विभिन्न व्यक्तिको संलग्न भएको आशङ्का गरे पनि नाम खुलेर स्थानीयहरू भन्न डराउँछन् । लमही नगरपालिका–८, सतबरियाका बिरु चौधरीले रातभर ट्याक्टरको आवाजले सुत्न नसकिएको बताए पनि कोको उत्खननमा संलग्न छन् भन्नेबारे आफूलाई जानकारी नभएको बताउनुभयो । लमही नगरपालिका–८, सतबरियादेखि राजपुर गाउँपालिका जोड्न निर्माण भएको पक्की पुलमुनि बालुवा उत्खनन गरिएको छ ।
सोही वडाको भत्तरकुण्डा खोलाबाट ढुङ्गा उत्खनन बढेको छ । वडा नं ९ रिहारका शेरबहादुर केसीले पछिल्लो समय राप्ती नदी र अन्य खहरे खोलाबाट ढुङ्गा उत्खनन गर्ने र बिक्री गर्ने क्रम बढेको बताउनुभयो । राप्ती नदी र आसपासका खोलाबाट ढुङ्गाजन्य वस्तुको अवैध उत्खनन बढेको छ । यसलाई नियमन गर्ने निकाय स्थानीय सरकार, प्रहरी प्रशासन असफलजस्तै देखिएका छन् । उपभोक्ताले एक ट्याक्टर बालुवा लैजाँदा प्रहरीले निगरानी राख्ने तर चोरी गरेर ट्याक्टरका ट्याक्टर निकासी हुँदा निगरानी नगरिएको स्थानीयको गुनासो छ ।
स्थानीय सरकारले नदीजन्य वस्तुको उत्खननका लागि ठेक्का लगाउन ढिलाइ गरेकै कारण अवैध उत्खनन र चोरी बढेको देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु हुने बेलामा नै यस प्रकारको प्रक्रिया र काम थाल्नुपर्ने भए पनि छ महिना पुग्नै लाग्दा बल्ल केही स्थानीय तहले यसमा काम गर्न थालेका छन् । विकास निर्माणको काम सुरु भएको छ । तर, नदीजन्य वस्तु सहज रूपमा नपाउँदा कामसमेत प्रभावित हुने अवस्थामा छ ।
जिल्लाका तीनवटा गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल उत्खननको अनुमति पाएका छन् । वातावरण प्रभाव मूल्याङ्कन भएका गढवा, राप्ती र राजपुर गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका हुन् । गाउँपालिकाले वातावरण प्रभाव मूल्याङ्कन गरेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिमा सिफारिस गरेका तीनवटा गाउँपालिकालाई अनुमति मिलेको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले ढुङ्गाजन्य वस्तुको चोरी निकासीलाई रोक्ने प्रयास भएको बताउनुभयो ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६