कपिलवस्तु, ६ माघ ।१३ औं कपिलवस्तु महोत्सवको तयारी करिब ७० प्रतिशत पुरा भएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । महोत्सवको करिब ७० प्रतिशत काम भईसकेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए । विभिन्न समिति, उपसमितिमार्फत महोत्सवको तयारी तीब्र भईरहेको बताउँदै उनले भने, ‘फिल्डमा देखिने गरि ७० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । कम्पाण्ड निर्माणको काम भईसक्यो ।’
महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब ५ देखि ७ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।स्टल, मञ्च र सचिवालय निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए । महोत्सवको प्रवेश गेट निर्माणको काम धमाधम भईरहेको र निर्धारित मितिमै उद्घाटन गर्ने गरि काम सम्पन्न गर्ने उनले दाबी गरे ।विगतका बर्षहरुमा कपिलवस्तु महोत्सव अन्य क्षेत्रका महोत्सव भन्दा फरक रहदैं आएको बताउँदै उनले भने, ‘यस अघिको महोत्सव पृथक बनाउने प्रयास गर्दा कोरोनाले प्रभावित बनायो । अहिले पनि केही न केही प्रभाव रहेकै छ ।’कोरोनाका कारण समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाई छ ।
‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने छ,’ उनले भने, ‘उद्योग, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिलाउने उद्देश्य छ ।महोत्सवमा यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गरिने उनले बताए । उनले हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए । विगतका महोत्सवमा रहदै आएका विभिन्न खानाका परिकार, बालउद्यान जस्ता गतिविधिलाई निरन्तरता दिने उनले बताए ।महोत्सवको मुख्य आकर्षणको रुपमा रहदै आएको कपिलवस्तु डान्स आईडललाई निरन्तरता दिने अथवा अन्य आईडल गर्ने भन्ने बारे छलफल भईरहेको उनले बताए ।“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ १३ औं कपिलवस्तु महोत्सव बाणगंगा ४ मा रहेको बुद्धरंगशालामा हुदैं छ ।








प्रतिक्रिया