पाल्पा १४ माघ । सत्ता पक्षमा मतदान गर्ने सत्तामा सोमल हुन नपाएपछि प्रमुख प्रतिपक्षी दलको हैसियत खोज्ने कांग्रेस जस्तो पार्टी विश्वको कुनै पनि प्रजातान्त्रिक मुलुकमा सायदै नहोला भन्ने तर्क नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले गर्नु भएको छ । उहाले प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा बोल्दै राष्ट्रपति एमालेले नै पाउने स्पष्ट पार्नु भयो । सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने बताउनुभयो । उहाँले आफूसँग भएको सत्तालाइ सहि रुपमा व्यवस्थापन गर्न नसक्दा काँग्रेसले सबै गुमाएको तर अझै पनि धमिलो पानीमा माछा मर्छकि भनेर राष्ट्रपतिको दाउ ताकेको बताउनुभयो ।
ज्ञवालीले कांग्रेसले कुनै हालतमा राष्ट्रपति नपाउने भन्दै धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा रहेको उहाँले बताउनुभयो । तर त्यो काँग्रेसको सपना मात्रै हो । ‘कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा हो’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन। पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्छन्।’बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको उनले बताए। ‘केही दलले छिर्के दाउ हानेर वर्तमान सत्तागठबन्धन तोड्ने प्रयास गरिरहेका छन्। त्यो सफल हुने छैन्। सत्तागठबन्धका दलप्रति एमाले सशंकित छैन्। राजनीति विश्वासले चल्ने हो।
एक माघले जाडो जाने विषय पनि होइन्। यो कसैलाई छिर्के हानेर दाउपेचमा राखेर राजनीति गर्ने विषय पनि होइन। इमानदारीता र निष्ठा राजनीतिका आधार हुन् यी टुटे भने केही बाँकी रहँदैनन्। विश्वास घात कसैबाट हुने छैन’, उहाँले भन्नुभयो । अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयमा सबै दल इमानदार रहेको उहाँले बताउनुभयो । कांग्रेस सत्ता पक्ष बन्न सकेन। विडम्बना प्रतिपक्ष बन्न पाउँ भन्दै संसद सचिवालयमा निवेदन दिनु इतिहासमै अचम्मको घटना भएको बताउनुभयो । ‘सत्तामा पनि आउन खोज्ने। प्रतिपक्ष बन्नका लागि पनि निवेदन दिएको छ। यस्तो प्रवृतिले कांग्रेस राजनीतिबाट स्खलित भएको छ’, उहाँले भन्न्नुभयो ।
जसरी पनि सत्ता पुग्नका लागि मरिहत्ते गर्ने र राज्यको दोहन गर्नेबाहेक मुलुक बनाउने भिजन कांग्रेसमा नभएको ज्ञवालीले बताउनुभयो । मुलुकमा विकास, सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न र राष्ट्रिय शक्तिलाई बलियो बनाउन राजनीतिक स्थिरता आवश्यक रहेको उहाँले बताउनुभयो । ।
प्रतिक्रिया