कपिलवस्तु, १५ माघ ।
१३ औं कपिलवस्तु महोत्सवको तयारीको काम ९० प्रतिशत पुगेको छ । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । महोत्सवको तयारीको काम ९० प्रतिशत सम्पन्न भएको र अन्य बाँकी काम तीब्र रुपमा अघि बढेको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
महोत्सवलाई नयाँपन दिने गरि काम भईरहेको बताउँदै उनले भने, ‘अहिले समग्रमा हेर्दा तयारी ९० प्रतिशत भईसकेको छ । सबै क्षेत्रको काम अन्तिम चरणमा छन् । ’
कम्पाण्ड, स्टल, सचिवालय निर्माणको काम शतप्रतिशत सम्पन्न भएको उनले बताए । उनका अनुसार स्टेज, गेट, बालउद्यान निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिहरुले तीब्र रुपमा गरिरहेको बताउँदै उनले भने, ‘उद्घाटन मिति भन्दा एक दिन अगावै काम सम्पन्न हुने गरि तयारी भएको छ ।’ महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब ५ देखि ७ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन ‘सिङ्गीङ आईडल’ गर्न लागिएको बताए । उनले ‘सिङ्गीङ आईडल’ महोत्सवको आकर्षणको केन्द्रविन्दुका स्थापित हुने दाबी समेत गरे । उनले दुवै आईडलतर्फका आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए ।
उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।








प्रतिक्रिया