गुल्मी, ०३ फागुन । विश्वमै दुर्लभ चरामध्ये ६ प्रजातिका चरा गुल्मीको रेसुंगामा पाइएका छन्। पक्षी संरक्षण गुल्मीका परियोजना अधिकृत भरत पन्थीका अनुसार गुल्मीको रेसुंगा संरक्षित वनमा चीर कालिज, रणमक्त महाचील, सेतो गिद्ध,डंगर गिद्ध, सुन गिद्ध र गोमायु महाचील रहेका छन्।
यससँगै नेपालमा मात्र पाइने चरा काँडेभ्याकुरसहित रेसुंगामा २५८ प्रजातिका चरा रहेको पन्थीले बताएका छन्। विभिन्न प्रजातिका चरा संरक्षण गर्न वन ब्यवस्थापन, वासस्थान सुधार र संरक्षण पोखरी निर्माण, विद्यालय स्तरमा जनचेतनामूलक काम गर्दै आएको पन्थीले बताए। रेसुंगामा १९ प्रजातिका पुतली पनि पाइएको जानकारी पन्थीले दिए।
विश्वमै दुर्लभ रहेका ६ प्रजातिका चरा रेसुंगामा रहेको भन्ने प्रमाण करिब ८ वर्षको अध्ययन र अनुसन्धानबाट पत्ता लागेको पन्थीको दाबी छ। गुल्मीमा रेसुंगा संरक्षित वन, मदाने संरक्षित वन र थाप्ले सत्यवती संरक्षित वनसहित ३ वटा संरक्षित वन रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ।
डिभिजन वन कार्यालय गुल्मीले रेसुंगा क्षेत्र पर्यापर्यटन तथा वन संरक्षण क्षेत्रको विकासका लागि बहुमूल्य प्रजातिका बिरुवा रोप्ने, बर, पिपल, लाँकुरी संरक्षणका लागि चौपारी निर्माण गर्ने‚ विभिन्न प्रजातिका रुख तथा वनस्पतिको अभिलेखीकरण गर्नेसँगै प्रचारप्रसारलगायत र अन्य कामका लागि २५ लाख रूपैयाँ बजेट छुट्याइएको सहायक वन अधिकृत मुना शर्माले जानकारी दिइन्।
रेसुंगाका नगर प्रमुख खिलध्वज पन्थीले रेसुंगा क्षेत्रलाई पर्यटनसँगै आयआर्जनका कार्यक्रममार्फत अगाडि बढाउने योजना बनाएको बताएका छन्। उनले डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरेर नमुना काम गर्न र रेसुंगाको प्रचारप्रसारका लागि आफू सधैँ तयार रहेको दावीसमेत गरेका छन्।








प्रतिक्रिया