कपिलवस्तु, ०९ फागुन ।
लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले विरुद्धको अभियान सुरु भएको १३ वर्ष बितिसक्यो, तर रोग उन्मुलन हुन सकेको छैन । बाँके र दाङमा ०६७ सालदेखि हात्तीपाइले विरुद्धको औषधी सेवनको अभियान सुरु गरिएको थियो । ६ वर्षभित्रै रोग उन्मुलन गर्ने लक्ष्य राखिएको यी दुई जिल्लामा यो वर्ष १३ औं र कपिलवस्तुमा १५ औं पटक औषधी सेवन अभियान चल्दैछ । कपिलवस्तुमा २०६३ सालमा औषधी सेवन अभियान सुरु भएको थियो ।
लक्षित जनसंख्याले औषधी नखाइदिँदा १६ वर्षसम्म हात्तीपाइले निवारणहुन नसकेको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल । ‘शहर र बजारी क्षेत्रका बासिन्दाले औैषधी नखाइदिदा अभियान सफल हुन सकेको छैन’, उनी भन्छिन्, ‘कति जनाले जानीजानी र कतिपयले औषधीको असरबारे गलत बुझाइले औषधी नखाइदिदा निवारणमा समस्या भइरहेको छ ।’
उनका अनुसार लक्षित जनसंख्याको ८० प्रतिशतले औषधी नखाइदिएको बताइन् । ‘हरेक वर्ष हात्तीपाइले विरुद्ध औषधी सेवन अभियान चलाइरहेका छौं’ उनी भन्छिन्, ‘तर लक्षित संख्या अनुसार औषधी नखाइदिदा रोग निवारण गर्न सकेको छैन ।’
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार जिल्लामा हात्ती पाइले रोग विरुद्धको अभियान सुरु गर्दा संक्रमणको दर २९ प्रतिशत थियो । अहिले यो दर घटेर ४ प्रतशितमा झरेको छ । जबकी यो दर २ प्रतिशत भन्दा कम भएमात्र रोग निवारण भएको मानिन्छ ।
बाँकेमा हात्तीपाइले रोगको संक्रमणको दर ४ प्रतिशत र कपिलवस्तुमा ८ प्रतिशत छ । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दका अनुसार औषधि सेवन अभियानपछि रोगको परीक्षण गरिन्छ । परीक्षणमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएमा जोखिम नघटुन्जेलसम्म औषधि सेवन अभियान हरेक वर्ष चलाइन्छ ।








प्रतिक्रिया