प्रदेश

प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाण्डौ उपत्यकामा घरजग्गा किन्न नपाउने व्यवस्था गरौँः सांसद सुवाल



काठमाण्डौ, १० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाण्डौ उपत्यकामा घरजग्गा किन्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । देशको सन्तुलित विकास र काठमाण्डौ उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाण्डौ उपत्यकामा घरजग्गा किन्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उहाँको तर्क थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाण्डौ उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गर्नुभयो । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभाबी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उहाँले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुवालले भन्नुभयो, ‘काठमाण्डौ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेज गर्न आवश्यक छ । ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा नागरिकको विरोध छ । काठमाण्डौमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाण्डौ उपत्यकामा खाद्यान्न आपूर्ति रोकिने र यहाँका नागरिक भोकभोकै मनुपर्ने अवस्था छ । २०७२ सालको जस्तो ठूलो भूकम्प काठमाण्डौमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ नागरिकको ज्यान जाने अवस्था छ । यस कारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय नागरिसँगै घर बनाएर बस्नुपर्ने, काठमाण्डौ उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’

सांसद सुवालले भक्तपुरमा रहेको नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराउनुभयो । आठ वर्षदेखि यस सडक खण्डको निर्माण कार्यले पूर्णता नपाएकोमा उहाँको आक्रोश थियो ।

प्रकाशित : १० फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६