घोराही ११ फागुन ।घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न शुरू गरेर वितरण थालिएको छ। तत्काल सात सय घरमा ग्यास पु¥याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए। उपमहानगरपालिकाको १६ नं वडामा वितरण शुरू गरेको उनले बताए । ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए। फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा रहेको उनले बताए । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोग समेत भएको छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ ।
जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो भएको नगर प्रमुख चौधरीले बताए। उपमहानगरपालिका र कम्पनीबीचको सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको उनको भनाइ थियो। जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको काम अवलोकन गर्न जिल्लाभित्र तथा बाहिरी जिल्लाबाट नागरिक आउने गरेका छन् । यसले नगर सरसफाइमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ । उपमहानगरपालिकाले घरघरबाट फोहर खरिद गर्न थालेको छ । बोतल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दंग परेका छन् । करिब एक वर्षअघिदेखि फोहरबाट ग्यास उत्पादन शुरू गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए।
१२ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया