अर्घाखाँची, १४ फागुन । अर्घाखाँचीको पूर्वीक्षेत्रको बल्कोट, केरुंगा र चिदीका गाउँमा ल्याइएको छत्रगन्जको मढेलचौर खानेपानी मुहानमाथि दशकअघि सडक खन्न डोजर चलाइयो । बाटो बन्यो तर पानीको मुहान सुक्यो । बाटो खन्दा हराएको पानी भेटिएन । पानी ठप्प भएपछि गाउँका ट्यांकी, धारा पनि फुटेर हराइसके ।
मुहानबाट सिधै गाउँमा आउने अरू स्रोत कतै छैन । मुहानबाट गाउँमा सिधै पाइपबाट आइरहेको पानी हराएपछि विकल्पमा खोलाको पानी लिफ्ट गरेर तान्न थालिएको छ । पछिल्लो समय खोला, कुवा, खोल्सा खोज्दै पानी लिफ्ट गरेर डाँडोमा तान्ने काम भइरहेको छ ।
संघीय सरकारको ३० करोड २४ लाख ७८ हजारको लगानीमा हाँडेखोला चिदिका बृहत् खानेपानी आयोजनाको काम सुरु छ । मथुरा खोलाको पानी लिफ्ट गरेर डाँडोमा तानेर ट्यांकीमा संकलन गर्ने र घरैपिच्छे धारा जडान गरेर पानी वितरण गर्ने उद्देश्य छ । मढेलचौरको पानीले छत्रगन्ज, चिदिका, बल्कोट, केरुंगा गाउँलाई पुगेको थियो । यी गाउँ छत्रदेव गाउँपालिकाको वडा १, २, ३, ४ र ५ मा पर्छन् । मुहान सुकेकै कारण लिफ्ट प्रविधिको विकल्प खोज्नु परेको बल्कोटका उपभोक्ता विष्णुप्रसाद भुसालले बताए । ‘सडक खन्दा ध्यान नदिएकै कारण मुहान सुक्यो, निःशुल्क खाइरहेको पानी अहिले लिफ्ट प्रविधि अपनाएपछि महिनैपिच्छे पैसा तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘टोल र घर छुट्याएर लिफ्ट गरिएको छ ।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सन्धिखर्क नगरपालिका–८ पकले गाउँको लागि पकले–गोडखाला खानेपानी आयोजना सञ्चालन गर्न केही वर्षअघि सर्वे गरेको थियो । काम सुरु गर्ने तयारी हुँदा भूकम्प र बाटोका कारण मुहानको पानी गायब भयो । त्यसपछि घाटखोलाबाट लिफ्ट गरेर खानेपानी योजना ल्याइयो । ट्यांकीमा जम्मा गरेको पानी बिहान–बेलुका निश्चित समय तोकेर धारामा छाडिन्छ ।
योजनाबाट मुहानको सिधै ल्याइएको ९ग्राबेटी० पानीलाई उपभोक्ताले पैसा तिर्नु पर्दैन । बिग्रे मात्रै मर्मत गर्ने हो । तर, लिफ्ट गरेको पानी योजना सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरेपछि पानी तान्दा लाग्ने बिजुली खर्च, मोटर बिग्रे मर्मत, कर्मचारी खर्च सबै उपभोक्ताले नै व्यहोर्नुपर्छ । त्यसका लागि घरैपिच्छेका उपभोक्ताले महिनैपिच्छे शुल्क उठाउनुपर्छ । पम्प बिग्रेमा २ देखि ५ लाख खर्च हुन्छ । त्यो उपभोक्ताले नै खर्च व्यहोर्नुपर्छ ।
मालारानी गाउँपालिका–९ गोखुंगा, सिमेदेउरालीमा लिफ्टबाट पानी तानिएको छ । एक वडा कार्यालय, गोखुंगा स्वास्थ्य चौकी, चार स्कुल र उपभोक्ता गरी ३ सय ३२ वटा धारामा पानी वितरण हुने गोखुंगा खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र खनालले बताए । लिफ्ट गरेको पानी निकै महँगो छ । एक घरबाट महिनाको न्यूनतम् १ सय रुपैयाँ उठाइन्छ । यो पैसा धारोमा पानी प्रयोग नगरे पनि तिर्नुपर्छ । पानी प्रयोग गरेपछि बिलमा उठेको रकम थप गरेर तिर्नुपर्ने उनले बताए । एक जना उपभोक्ताको महिनामा २ सयदेखि ५ हजार रुपैयाँसम्म पानीको बिल उठ्ने गर्छ । रकम समितिको कोषमा जम्मा हुन्छ । त्यही रकमबाट कर्मचारीलाई तलब, मिटर, पम्प बिग्रे मर्मत र बिजुलीको बिल तिर्ने गरेको उनले बताए । हरेक दिन बिहान ६ देखि १२ बजेसम्म धारामा पानी छाडिन्छ । उपभोक्ताले आवश्यकता अनुसार धारा खोलेर पानी प्रयोग गर्छन् । एउटा मिटर बिग्रेर थन्किएको छ । पम्प बिग्रेर मर्मत गर्न बुटवल पठाउँदा, डबल क्याप गाडी रिजर्व, मिस्त्री खर्च गरेर २० हजार रुपैयाँ लाग्ने उनले बताए । हरेक तीन महिनामा मिटर रिडर हुन्छ । हरेक तीन महिनामा ८२ हजार रुपैयाँ बिजुलीको बिल आउने गर्छ । ‘लिफ्ट गरेर पानी तान्नुअघि गोखुंगामा ३० रुपैयाँ गाग्रीमा पानी किनेर खानुपर्थ्यो, अहिले धारामा शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘यो लिफ्ट गरेर वितरण गरेको पानी साह्रै महँगो छ । गरिब परिवारले त बिल तिर्न नसकेर धारा जडान नै गरेका छैनन् ।’
पानी खोल्न, बन्द गर्न गरी ११ जना कर्मचारी छन् । उनीहरूलाई २७ हजार मासिक तलब दिनुपर्छ । पानी ७ सय ८० मिटर तल काउले खोलाबाट गोखुंगा डाँडोमा तानिएको छ । जिल्लाका अन्य ठाउँमा लिफ्ट प्रविधिबाट पानी तानेर घरैपिच्छेका धारामा वितरण गर्दा उपभोक्ता चर्को मूल्य तिरेर पानी खान बाध्य छन् । ‘गाउँ सुख्खाग्रस्त छ, सिधै मुहानबाट गाउँमा ल्याउने पानीको मुहान कतै छैन,’ उनले भने, ‘पुराना कुवामा पानी हरायो, लिफ्ट गर्दा साह्रै महँगो हुन पुग्दा आपत् परेको छ ।’
जिल्लामा लुम्बिनी प्रदेशअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लामा खानेपानीका योजना सञ्चालन गरेका छन् । जिल्लामा ६ वटै पालिकाका गाउँमा खानेपानी योजनामा काम भइरहेको छ । ‘८५ प्रतिशत योजना लिफ्ट प्रविधिमा सञ्चालित छन्,’ डिभिजन कार्यालयका सव–इन्जिनियर गोविन्दप्रसाद आचार्यले भने, ‘खोला, कुवा खोजेर डाँडोमा तान्ने हो । मुहान धेरै छैनन्, अधिकांश ठाउँ सुक्खाग्रस्त छ ।’ लिफ्ट गरेर खोलाको पानी डाँडोमा तान्ने, त्यहाँ ट्यांकीमा संकलन गरेर घरैपिच्छे जडान गरिएका धारामा वितरण गर्दा उपभोक्तालाई महँगो पर्ने गरेको उनले बताए ।








प्रतिक्रिया