प्रदेश

जिल्लाकै ठूलो गुल्मी अस्पतालमा खानेपानी अभाव



गुल्मी, १९ फागुन । गुल्मी अस्पतालमा खानेपानी अभाव भएको छ । सदरमुकाम तम्घासमा रहेको जिल्लाकै ठूलो अस्पतालमा खानेपानी अभाव भएपछि समस्या भएको छ ।

रेसुङ्गा नगरपालिका ८ दोबिन्दा खोलाको मूलबाट ल्याउने गरेको मुहानमा सुक्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताउनुभयो । अस्पतालमा पानीको अभाव हुँदा बिरामी र कर्मचारीदेखि ल्याब सञ्चालनमा प्रयोग हुने उपकरणहरू पनि चलाउन समस्या भएको उहाँले बताउनुभयो । आफू अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि दीर्घकालीनरूपमा खानेपानीको समस्यालाई समाधान गर्न पहल गरे पनि एक्लो प्रयासले मात्र समस्याको समाधान नभएको उहाँले गुनासो गर्नुभयो ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पानीको समस्याबाट सेवा प्रवाहमा कुनै समस्या नपरोस् भनेर समस्या समाधानका लागि स्रोत व्यवस्थापन गर्न पहल गरिरहेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयो । उहाँले तत्कालै यो समस्या समाधान गर्न रेसुङ्गा ८ का अध्यक्षलाई निर्देशन दिएको र आफू पनि लागिपरेको बताउनुभयो ।

कतिपय खानेपानी उपभोक्ता समितिको स्थायी लेखा नम्बर नहुँदा भुक्तानी प्रक्रियामा समस्या हुने भएका कारण पानीको मिटर जडान गर्न थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । जिल्ला सदरमुकाममा रहेका उपभोक्ता समितिहरूसँग आफूले समस्या समाधानका लागि पहल गरे पनि वृहत् खानेपानी उपभोक्ता समितिबाहेक अरू समितिहरू सकारात्मक नभएको उहाँले बताउनुभयो ।

खानेपानी उपभोक्ता समितिहरूले भने अस्पताललाई खानेपानी उपलब्ध गराउने कुरामा समितिमा कुनै विमति नरहेको भन्दै संस्थाले तोकेको न्यूनतम शुल्क बुझाएर प्रक्रियामा गएमा तत्कालै पानीको मिटर जडान हुने बताएका छन् । गुल्मी अस्पतालमा दैनिक तीन सयदेखि चार सय जना बिरामीले सेवा लिँदै आइरहेका छन् ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६