प्रदेश

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित



काठमाण्डौ, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले आज नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो ।

पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार पाँच सय ९१ थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार तीन सय १५ मतभार आवश्यक पर्छ ।

पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ । पूर्वसभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थनमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी भने मतदानमा सहभागि भएन ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८१ मतदाता कायम रहेकामा ५० जना मतदानमा उपस्थित भएनन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

२००१ साल असोज २९ गते तनहुँको व्यसमा जम्मनुभएका पौडेल नेपाली कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुनुहुन्छ । उहाँ छ पटक सांसद, पाँच पटक मन्त्री र एक पटक प्रतिनिधिसभाको सभामुख बन्नुभएको छ । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिए पनि उहाँले जित हासिल गर्न सक्नुभएको थिएन ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६