गुल्मी २६ फागुन । गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ् निवासी दुवै मिर्गौला पीडित ४० वर्षीय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जीवनमरणको दोसाँधमा रहनुभएकी सुत्पराई अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।
होटल व्यवसायी सरुमाको उपचारमा सहयोग गर्ने उद्देश्यसाथ होटल व्यवसायी मञ्चले जिल्लामा “सरुमा सुत्पराई बचाऔं” अभियान सञ्चालन गरेको थियो । मञ्चले सञ्चालन गरेको अभियानबाट ६५ हजार ५९० रुपियाँ आर्थिक सङ्कलन भएको थियो । जिल्लामा रहेका विभिन्न व्यवसायीबाट आर्थिक सहयोग सङ्कलन गरिएकोमा रसिदबाट ४१ हजार ३३० र खुद्रा सहयोग २४ हजार २६० रुपियाँ सङ्कलन भएको थियो । अभियानमाफर्त सङ्कलन भएको कुल ६५ हजार ५९० रुपियाँ सुत्पराईका श्रीमान बोमबहादुर सुत्पराईलाई हस्तान्तरण गरिएको हो ।
२६ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया