बुटवल २७ फागुन।राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पर्ने निश्चित भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल एमालेको नछाड्ने भएको छ । प्रचण्ड सरकारबाट बाहिरिएपछि राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपा लुम्बिनी प्रदेशमा अहिले एमालेका लीला गिरीको नेतृत्वमा सरकारमा सामेल रहेको छ । राप्रपाले गिरीको नेतृत्वलाई अन्तिम अवस्था सम्म साथ दिने रणनीतिमा बनाएको हो ।राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पार्टीले तत्काल एमालेको साथ नछोड्ने रणनीति लिएको बताए । उनले नयाँ समीकमरणमा दलहरूले पार्टीलाई कुनै छलफलमा नबोलाएकोले आफूहरू एमालेकै साथ दिने गरी अगाडि बढेको बताउँदै नयाँ समीकरणमा आफूहरु जाने सम्भावना कम रहेको बताए ।
नयाँ समीकरण लागि माओवादी,नेपाली काँग्रेस लगायतका दलहरूले पनि राप्रपालाई अहिले महत्व दिएर आफ्नो समीकरण तिर आउनको लागि छलफल गरेका छैनन् ।लुम्बिनी प्रदेश नेपाली काँग्रेस,माओवादी लगायत दलहरूको सांसद सङ्ख्या जोड्दा एमाले र राप्रपालाई बाहिर राख्दा पनि सरकार बन्ने अवस्था भएकाले पनि राप्रपालाई अहिले नयाँ समीकरणले दलहरू भाउ नदिएका हुन् ।माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रीय समीकरण अनुसार तत्काल प्रदेशबाट नयाँ थप्ने र हटाउने सम्भावना नरहेको बताउँदै राप्रपालाई जोड्ने विषय कुनै छलफल नभएको बताए ।
प्रतिक्रिया