खोज–अनुसन्धान

‘कृष्णनगर नगरपालिका’ करार कर्मचारीकै भर !



भुपाल थापा, कपिलबस्तु ।
कपिलबस्तुको कृष्णनगर नगरपालिकामा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी पूर्ति नहुँदा करार कर्मचारीकै भरमा कृष्णनगर नगरपालिकामा सेवा प्रवाह भइरहेको जनाइएको छ । स्थानीय सरकारलाई संविधानले नै ऐन÷कानून बनाउनेदेखी त्यसको कार्यान्वयन गर्ने अधिकार दिएको छ तर कर्मचारी नहँुदा अधिकार कार्यान्वयनको सवालमा कृष्णनगर नगरपालिका अन्यौलमा रहेको देखिएको छ ।

दोस्रो स्थानीय निर्वाचन पश्चात कपिलवस्तुका अधिकांश स्थानीय तहसँगै कृष्णनगर नगरपालिकाले समेत करारमा कर्मचारी भर्ना गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा पर्याप्त कर्मचारी (करार)को व्यवस्थापन भएपछि अहिले सर्वसाधारणले सहज हिसावले सेवा पाइरहेका छन् । कपिलबस्तुका ६ नगरपालिका र चारवटा गाउँपालिकामध्ये केही स्थानीय तहमा प्राबिधिक कर्मचारीहरु अभाव रहेपनि ती स्थानमा करारमा कर्मचारी राखेर स्थानीय तहहरुले सर्वसाधारणलाई सेवा प्रदान गरिरहेका छन् । फलस्वरुप अहिले जिल्लाका स्थानीय तहमा करारका कर्मचारी छ्यापछ्याप्ती छन् ।

जिल्लाको कृष्णनगर नगरपालिकामा विगत बर्षहरुमा पनि कर्मचारी अभाव रहेको थियो । कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा असहजता देखिएको थियो । कर्मचारीको अभावसँगै समन्वयमा तिक्तक्ता आएकै कारण कृष्णनगरमा सेवाग्राहीको असन्तुष्टि बढेको छ भने कार्यसम्पादनमा समेत गिरावट आएको छ ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले नगरपालिकामा दरबन्दी अनुसार कर्मचारीको ब्यबस्थापनमा समस्या आएको स्वीर्काछन् । स्थायी कर्मचारीको मागका निम्ती मन्त्रालय धाउँदा पनि कर्मचारीको दरबन्दी अनुसार पूर्ति गर्न नसकिएको शाह बताउँछन् । नगरपालिकामा ६० प्रतिशत कर्मचारीको अभाव रहेको नगरप्रमुख शाहले बताए । उनले उपलब्ध करार कर्मचारीको कार्यशैली र आपसी समन्वयको अभावले समग्र पालिकाका पारेको प्रभाव र सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कृष्णनगर नगरपालिकामा पनि अहिले स्थायी कर्मचारीभन्दा करारका कर्मचारीको संख्या धेरै छ । पालिकाले बिभिन्न शाखा तथा वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य संस्थामा करारका कर्मचारी राखिएको छ । त्यसले गर्दा पनि करारका कर्मचारी धेरै देखिएको नगरपालिकाले जनाएको छ ।

केही प्राविधिक जनशक्तिवाहेक नगरपालिकामा पर्याप्त कर्मचारी नरहेको प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले बताए । नगरपालिकाको बैठक मुताविक करारका कर्मचारीहरु नियुक्त गरी सेवा प्रवाहलाई व्यबस्थित बनाईएको उनको दाबी छ । ‘अहिले स्थायी कर्मचारीभन्दा करारका कर्मचारी धेरै हुनुहुन्छ’, उनले भने, ‘तर, त्यो अनावश्यक भर्ना गरिएको होईन्, आवश्यकता अनुसार नै भर्ना गरिएको हो, जसले गर्दा पनि अहिले सेवा प्रभावकारी बनेको छ ।’

कार्यालय सहयोगी, सवारी चालक, सरसफाईकर्मी जस्ता श्रेणीविहीन कर्मचारीको सम्बन्धमा केही अस्पष्टता भएकाले समस्या देखिएको कृष्णनगर नगरपालिकाका प्राविधिक सहायक राजेश कुमार मिश्रले बताए । अहिले स्थानीय तहहरुले दैनिक ज्यालादारी कर्मचारीहरु पनि नियुक्ती गरेकाले पनि करार कर्मचारीको समस्या धेरै रहेको मिश्रले बताए । करार कर्मचारीहरुको मनोमानी प्रवृत्ति र असञ्जस्यताका कारण भने नगरपालिकामा सेवाप्रवाह समस्या नरहेको उनको जिकिर छ । यद्यपि दमकल, फायरम्यान, इलेक्ट्रिकल पर्सन, सरसफाईकर्मीहरुको २४ घण्टे कार्यअवधि रहने ब्यबस्था भएकाले करार कर्मचारीहरुले हाजिरी गर्ने गरेको उनको भनाइ छ ।

कृष्णनगर नगरपालिकामा करारमा सेवारत कर्मचारीको कार्यशैली सन्तोषजनक नरहेको पालिकाका स्वयम् कर्मचारी स्वीकार गर्छन् । प्रमुख प्रशासकिय अधिकृत लगायत आफ्नो शाखा प्रमुखलाई जानकारी नै नदिई बिदामा बस्ने, बिदाका बारेमा लिखित तथा मौलिक जानकारी दिने नगरेको, कार्यक्षेत्रमा नगई अन्यत्र ब्यक्तिगत काममा जाने लगायतका कारण कृष्णनगरमा सेवाग्राहीको चरम बिरोध रहेको छ । सम्बन्धित शाखामा कार्यरत करार कर्मचारीहरुलाई कार्यालय तथा कार्यक्षेत्रमा फेला नपारेको सेवाग्राही अंकुर मिश्रको गुनासो छ ।

शुक्रबार कार्यालयमा संचारकर्मी पुग्दा निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मा पाएका शिक्षा अधिकृत बलराम पन्थी कार्यकक्षमा भेटिएनन् । नगरप्रमुख शाहलाई पन्थीको बारेमा बुझ्दा फिल्डमा खटिएको जानकारी दिइयो । यद्यपि पन्थी कुन कार्यको लागि फिल्डमा पुगेका थिए भन्ने बारे कार्यालयमा रहेका कुनैपनि कर्मचारीलाई जानकारी थिएन् । नगरपालिकाका रोजगार कार्यक्रम तथा राजस्व शाखा प्रमुख ईश्वरी प्रसाद पौडेल समेत कार्यकक्षमा भेटिएनन् ।

कार्यालयमा जानकारी बिना नै अनुपस्थित हुने गरेको कृष्णनगरका ब्यबसायीहरुको गुनासो छ । शुक्रबार अटो तथा ई–रिक्सा ब्यबसायीहरु पौडेललाई खोज्दै कार्यालयमा धाइरहेका थिए । पौडेलको मनोमानी प्रवृत्ति र सेवाग्राही प्रतिको ब्यवहार ठिक नभएको एक ब्यबसायीको आरोप लगाए । आफ्ना मागको उचित सम्बोधन हुनुपर्ने माग सहित कार्यालय पुगेका ब्यबसायीहरु पौडेललाई कार्यकक्षमा नभेटाएपछि निराश बनेर फर्केका थिए । ब्यबसायीका सम्बन्धित बिषयमा प्रयाप्त छलफल मार्फत माग संबोधनका निम्ति आइतबार कार्यालयमा डाकिएको लेखाप्रमुख मनिष पाण्डेले बताए ।

रोजगार कार्यक्रम तथा राजस्व शाखा प्रमुख पौडेल भने पारिवारिक कारण देखाउदै शुक्रबार कार्यालयमा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएका छन् । ब्यबसायीको बिषयमा नगर भित्र ठेकेदारी प्रथाको अन्त्य र सूचीकरण गर्ने अभियानलाई सार्थकता दिन आफु लागि परेको तर्क पौडेलको छ ।

कार्यालयमा राजश्व शाखा, पञ्जीकरण शाखा लगायतका शाखाहरुमा रहेका करार कर्मचारी नभेटिने गरिएको पाइएको छ । प्राविधिक करार कर्मचारी बाहेक अन्य करार कर्मचारीहरु सार्वजनिक बिदाको दिनको समेत हाजिरी गरेर हिड्ने गरेको श्रोतको दाबी छ ।
स्थानीय मामिला तथा सामाजिक विकास मन्त्रालयले बनाएको स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्नेसम्बन्धी नमूना कार्यविधिका आधारमा स्थानीय तहले करार कर्मचारी भर्ना गरेका छन् जुन कार्यविधीमा प्राविधिक कर्मचारीलाई करारमा नियुक्ति गर्न सकिने व्यवस्था गरेको छ । केही कर्मचारी स्थानीय निकाय हुँदा करारमा नियुक्त गरिएकाहरु छन् जसले गर्दा पनि स्थानीय तहमा करारका कर्मचारी धेरै भएको देखिन्छन् ।

प्रकाशित : २८ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६