अर्थ-वाणिज्य

बैंक र फाइनान्सले ब्याजदर घटाए



काठमाण्डौ, ३० फागुन । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले भोलि बुधवारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज मङ्गलवार सूचनामार्फत यो कुराको जानकारी दिएका हुन् ।

भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । उहाँले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताउनुभयो । अहिले बैंकहरूले कर्जामा आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । अहिले बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यस्तैगरी संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै विकास बैंकहरूको छाता सङ्गठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएशनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ ।

सङ्घको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ । त्यस्तै एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएको छ ।

अहिले विकास बैंकहरूले एक वर्षे वा त्योभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

यसैगरी ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा एक वर्षे वा त्योभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

त्यसैगरी नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । सङ्घले तीन महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरेको छ ।

फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गरेका छन् । रासस

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६