नवलपरासी २८ चैत । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु२ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उहाँले नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको जानकारी दिनुभयो ।
यता दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार राती अन्दाजी साढे १२ बजे गढवा गाउँपालिका वडा नं. ८ डाँडागाउँबाट हतियारसहित मानसिंह सुनारलाई पक्राउ गरेको हो । गाउँमा केही व्यक्तिहरू हातहतियारसहित शङ्कास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवा र इलाका प्रहरी कार्यालय कोईलाबासबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । “गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले गढवा गाउँपालिका–८ डाँडागाउँ निवासी दिलकुमार पुनमगरको घर छेउमा रहेको खाली जग्गामा भरुवा बन्दुक एक थान फेला पारेको थियो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
२८ चैत्र २०७९, मंगलबार
प्रतिक्रिया