देश

देशभरका ६४ स्थानमा डढेलो



काठमाण्डौ, ०४ वैशाख । देशभरका ६४ स्थानमा अहिले पनि डढेलो लागिरहेको छ । सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागेको छ ।

बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीनरतीन ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका दुईरदुई ठाउँमा डढेलो लागेको छ ।

यस्तै, उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, कञ्चनपुर, गुल्मी, दैलेख, डडेल्धुरा र अछामका एकरएक ठाउँमा डढेलो लागेको वन मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको छ । प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माका अनुसार कतिपय जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्ने जोखिमसमेत बढेको छ ।

नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको पनि शर्माले बताउनुभयो । हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जङ्गलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उहाँले बताउनुभयो ।

यस्तै, डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापारबाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।

डढेलोका कारण काठमाण्डौसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ । सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् ।

धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो । प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् । यस्तै, कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा सङ्क्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६