देश

बैंकमा भएको ५५ खर्ब रुपैयाँलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न सांसद पौडेलको माग



काठमाण्डौ, ०५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गर्न सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्यो रकम देशका रुग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताउनुभएको हो । उहाँले अप्ठेरोमा परेका उद्योगहरूमा त्यो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गर्नुभयो । त्यस्तै उहाँले देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै त्यस सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । ५५ खर्ब रुपैयाँ भनेको सरकारले औसत तीन पटक प्रस्तुत गर्ने बराबरको बजेट हो । त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अप्ठेरोमा परेका उद्योगहरूमा परिचालन गरी रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्रीले गरेका घोषणाअनुसार अगाडि बढाइयोस् । यस्तै ४० लाख खोप प्रयोग नभएको भनेर समाचार आएको छ । त्यो खोप प्राविधिक हिसाबले नमिल्ने भएर प्रयोग नभएको हो कि हाम्रो लापर्बाहीको कारणले प्रयोग नभएको हो, त्यसको बारेमा पनि सम्बन्धित निकायले छानबिन गरोस् ।’

सांसद पौडेलले यस वर्ष विद्यार्थीले समयमै किताब पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताउनुभयो । उहाँले किसानले समयमै रासायनिक मल पाउनुपर्ने पनि बताउनुभयो ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६