सुर्खेत, ०६ वैशाख । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लठ्ठी चार्जबाट गम्भीर घाइते भएका छन्।
ठूलीभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप प्रतियोगिताअन्तर्गत चौथो दिनमा भएको फुटबल खेलमा खेलाडीबीच भएको सामान्य विवादलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले अन्धाधुन्ध गरेको लठ्ठी चार्जबाट ४३ वर्षीय वडाअध्यक्ष भक्तबहादुर केसी घाइते भएका हुन्।
त्रिपुरासुन्दरी नगरपालिका ३ र जगदुल्ला गाउँपालिका-२ बीचको फुटबल खेलमा भएको सामान्य विवादमा सशस्त्र प्रहरीले खेल मैदानमा जर्सीसँग रहेका खेलाडी र दर्शकहरूलाई समेत लखेटी लखेटी अन्धाधुन्ध लठ्ठी चार्ज गर्ने क्रममा वडाध्यक्ष घाइते हुन पुगेको प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघका अध्यक्ष सरोज थापाले बताए।
सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक फुजिल शेर्पाको कमाण्डमा रहेका सशस्त्रका जवानहरूले खेलाडी र दर्शकलाई समेत लखेटीलखेटी लठ्ठी चार्ज गरी कुटपिट गरेका थिए।
सशस्त्रको लठ्ठी चार्जबाट वडाअध्यक्ष केसीको टाउकोमा गहिरो चोट लागेको छ। उनको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ। सशस्त्र प्रहरीले शान्तिसुरक्षाको नाममा उदण्डता मच्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। वडाध्यक्षसहित केही खेलाडीहरू समेत घाइते भएपछि समस्या समाधान नभएसम्मका लागि खेल स्थगित भएको छ।
प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलको कार्यकक्षमा ठूलीभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण बुढा‚ त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकाय, सशस्त्र प्रहरी बलका प्रहरी नाउव उपरीक्षक फुजिल शेर्पा, प्रहरी कार्यालयका प्रहरी नाउव उपरीक्षक केशव बुढाथोकी‚ सम्बद्ध खेलाडी नागरिक समाज र संचारकर्मी सहितको उपस्थिति घटनाको वास्तविकता पहिचान गरी समस्या समाधानको पहल भइरहेको बैठकमा सहभागी ठूलीभेरीका नगरप्रमुख सुवर्ण बुढाले जानकारी दिए।
यो वर्षमात्र नभई विगतका वर्षहरूमा पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी नागरिकलाई कुटपिट गर्ने गरेकाले दीर्घकालीन समस्या समाधानको लागि ठोस निर्णय गर्नुपर्ने स्थानीय खेम बुढाले बताए।








प्रतिक्रिया