वाँके ८ वैशाख । लुम्बिनी प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको गुणस्तरमा शङ्का लागेपछि बुधबारदेखि सुरु हुने राष्ट्रिय भिटामिन ‘ए’ अभियान बाँके जिल्लामा स्थगित गरिएको छ। प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको म्याद अप्रिल २०२३ सम्म मात्र रहेको र केही बट्टामा क्याप्सुलको रङ फरक भइसकेको पाइएको जानकारी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा गराइएको थियो। मन्त्रालयले पत्र पठाएर सो अभियान स्थगित गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
बालबालिकालाई खुवाउने सो क्याप्सुलको म्याद सकिन करिब १० दिन मात्र बाँकी रहँदा खुवाउन पठाइएकाले केही क्याप्सुल खराब भएर रङसमेत परिवर्तन भइसकेको पाइएको जानकारी स्थानीय तहबाट स्वास्थ्य कार्यालयमा आएको थियो। जानकारी आएलगत्तै प्रदेश मन्त्रालयमा कार्यालयको तर्फबाट जानकारी गराउँदा अर्को औषधि आएपछि मात्र खुवाउने भनी अभियान स्थगित गर्न पत्र आएकाले स्थगित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो। उहाँले मङ्गलबार नै सोबारे मन्त्रालयमा जानकारी गराइएकाले बुधबार केही थप औषधि आएकाले केही स्थानीय तहमा पछि पठाइएको क्याप्सुल खुवाउने कार्य सुरु भएको बताउनुभयो।
स्वास्थ्य आपूर्ति केन्द्रको गम्भीर लापरबाहीका कारण बाँकेमा राष्ट्रिय भिटामिन ‘ए’ अभियान प्रभावित भएको छ। बाँकेमा बुधबार र बिहीबार राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियानको तयारी पूरा भइसकेको थियो। स्वास्थ्य कार्यालयले स्वयम्सेविकाको हातहातमा पारेको भिटामिन ‘ए’ क्याप्सुल फिर्ता गर्न लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।
८ बैशाख २०८०, शुक्रबार
प्रतिक्रिया