काठमाडौं, ०८ वैशाख । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६।३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए ।
ओमानका मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । तर विशाल लक्ष्य पछ्याएको ओमानलाई जितको लागि त्यो पर्याप्त थिएन । सन्दीप गौड ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रनमा आउट भए । छैटौं विकेटका लागि सन्दीप र नदिमले ९६ रनको सानदार साझेदारी गर्दै झिनो जितको आशा कायम राखेका थिए ।
तर दीपेन्द्रसिंह ऐरीले ४२ औं ओभरको पहिलो बलमा सन्दीप गौडलाई सोमपाल कामीबाट लङअनमा क्याच गराउँदै उक्त नेपाललाई जित नजिक पुर्याएका थिए । करण केसीको अर्को ओभरमा मिडअफमा रोहित पौडेलले नदिमको उत्कृष्ट क्याच लिएपछि नेपालको जित अनौपचारिकता बाँकी देखिएको थियो ।
ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले ४।३ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
प्रतिक्रिया