पाल्पा ८ वैशाख । जिल्लाका तीन स्थानमा पक्की पुल सञ्चालनमा आएको छ । तीनवटै पुल लुम्बिनी प्रदेश सरकारअन्तर्गत निर्माण भएका हुन । सवारी साधन सञ्चालन भएको केही महिनापछि तीन पुलको उद्घाटन गरिएको हो । निस्दी खोलाका दुई र तिनाउ खोलाको एक स्थानमा पक्की पुल निर्माण सम्पन्न भएका छन ।रामपुर–सहलकोट सडकअन्तर्गत रामपुर नगरपालिका–१ र ३ जोड्ने निस्दीखोला मसानेघाट पुलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गर्नु भएको हो । संघीयता आवश्यकता नभएको र बोझ भयो भन्नेहरूलाई राजनीतिक परिवर्तनपछि धेरै उपलब्धि प्राप्त भएको मुख्यमन्त्री गिरीले बताए ।
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले ७० दशमलव ९ मिटर लम्बाइ भएको दुई लेन र दुई स्पानको पक्की पुल निर्माण भएको बताए । भ्याटसहित ७ करोड ७३ लाख ६ हजार ७ सय ७१ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । इलाइट कन्ट्रक्सन प्रालि काठमाडौंले २०७६ फागुन ११ मा ८ करोड १२ लाख २५ हजार ६ सय ४३ मा सम्झौता गरेर काम अघि बढाएको थियो । मसाने घाट पुल निर्माण गर्नका लागि जग्गा दिएका काशीनाथ खनाल र हेमबहादुर कार्कीलाई पनि पुल उद्घाटनका अवसरमा सम्मान गरियो । पक्की पुल अभावमा वर्षात्को समयमा सास्ती भोग्दै आएका रामपुर नगरपालिका–१, निस्दी गाउँपालिका–१, २ र ३ लाई पक्की पुलले सहजता भएको स्थानीयले बताए ।
प्रतिक्रिया