गण्डकी

लुम्बिनी र गण्डकीका तीन जिल्लाको सिमाना बन्यो पर्यटकीय गन्तव्यको केन्द्र



बागलुङ, ०८ वैशाख । पूर्वी रुकुम र रोल्पाको संगम स्थल पातीहाल्नेमा गर्मी याम सुरु भएपछि पर्यटकको चहलपहल बढ्ने गरेको छ। चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटकहरू पुग्ने गरेका हुन्। छेउमै रहेका रिग ताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ।

गण्डकी प्रदेशको बागलुङ र लुम्बिनीको पूर्वी रुकुम दुवै तर्फबाट सहज रुपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाईमा पातीहाल्ने पर्दै गएको हो। पातीहाल्ने हुँदै रिग र तिलाचन तालमा पुगिने हुँदा पर्यटकको आकर्षण केन्द्र बन्न पुगेको हो।

रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ। अग्लो पहाडको टुप्पोमा रहेका यी दुई तालमा पुग्न पातीहाल्नेबाट धेरै समय लाग्दैन। पातीहाल्नेबाट १५ मिनेटको पैदल यात्रामा रिग ताल पुग्न सकिन्छ भने आधा घण्टामा तिलाचन ताल पुग्न सकिन्छ।

रिगतालसम्म मोटरबाटो पुगेको हुँदा आगन्तु गाडीमा पनि पुग्न सक्छन्। बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगर (सूर्यमान) ले बताए।

सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा यी ठाउँहरूको प्रचारप्रसार तीव्र रुपमा भएको हुँदा पातीहाल्ने पर्यटकको रोजाइमा परेको उनको भनाइ छ। केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेदेखि रिग तालसम्म सडक पुर्‍याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधारहरू बन्न नसकेको अध्यक्ष बुढा मगरले बताए।

‘पहिले त यहाँका चर्चा खास्सै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्र भयो त्यसयता हजारौं पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणीय छ, यहाँ थुप्रै पूर्वाधारहरू निर्माण गर्नुपर्ने छ’, अध्यक्ष बुढा मगरले भने, ‘अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्नु पर्ने देखिएको छ।’

स्थानीय वीरबहादुर विकले दैनिक डेढ सय बढी आन्तरिक पर्यटक घुम्न आउने गरेको बताए। उनले हिउँमा रमाउन र गर्मी छल्न आउनेको संख्या धेरै हुने गरेको बताए।

विकले यहाँ घुम्न आउनेले आफूहरूले उत्पादन गरेका आलु, सिमी, भाँगो र चोयाबाट बनाइएका सामानहरू किनेर लैजाने गरेको सुनाए। पहिले यस क्षेत्रमा नागरिकहरू निकै विकटमा भएको भन्दै अहिले उच्च लेक पनि सडकले गर्दा सुगम बनेको उनको भनाइ छ।

विक भन्छन्, ‘यहाँ घुम्न आउने मान्छे एक ठाउँका मात्रै छैनन्, धेरै जिल्लाबाट आउने गर्छन्, कति टेन्ट टाँगेर दुई(चार दिन यही बस्ने रमाइलो गर्ने गर्छन्, यहाँ बस्दा लोकल कुखुरा, आलु किनेर यहीँ नै पकाएर खान्छन्, हामीहरूलाई अलिअलि पैसा पनि हुने भयो, दुई साल जति भयो धेरै मान्छेहरू आउन थालेको, पहिले त यो ठाउँ जंगल नै हो, तल बेँसीबाट गाईवस्तुहरू लिएर यहाँ आउने गर्थ्यौँ, पहिलेको जंगल अहिले धेरै घुम्ने रमाउने ठाउँ बन्यो।’

यो याममा त अझ वरपर फूलेका लालीगुराँसले धेरैको मन लोभ्याउने गरेको छ। पातीहाल्ने पुग्ने अधिकांश पर्यटक रिग ताल र तिलाचन तालमा पुग्ने गर्छन्। सडकको सहज पहुँच भएको हुँदा बर्खामा पनि यहाँ पर्यटकको कमी हुँदैन।

बर्खामा हरियाली र हिउँमा सेताम्य हिउँले ढाकिएको अग्ला डाँडाले पर्यटकलाई पटक–पटक निम्ता गरि रहेको हुन्छन्। पूर्वी रुकुमदेखि घुम्न आएका शिवकुमार खड्काले सडक सहज भएको हुँदा आफू पटक–पटक घुम्न आएको बताए।

लोकमार्गमा यात्रा गर्दा पूर्वी रुकुमदेखि लुकुम गाउँ हुँदै पातीहाल्नेसम्म अनेकौँ सुन्दर दृष्य अवलोकन गर्न सकिने हुँदा लामो बिदा पर्दा घुम्न आइ राख्ने बताए। उनले पाँच वर्ष अगाडिसम्म सडक अप्ठ्यारो हुँदा मान्छेहरू घुम्न कम आउने गरेको भन्दै अहिले पातीहाल्नेमा बागलुङ, रुकुम र रोल्पाका मात्रै नभइ धेरै ठाउँका मान्छेहरू आउने गरेको बताए।

‘५-६ वर्ष अगाडि यहाँ एक पटक आएको थिए, यस्तो चहलपहल थिएन, यहाँ घरहरू पनि बनेका थिएनन्, सुनसान थियो, अहिले यो ठाउँ निकै फेरिएको छ, अलि चोसो ठाउँ हो भयो, त्यही भएर गर्मी ठाउँबाट धेरै आउने गरेको पाइन्छ’, उनले भने, ‘मुख्य कुरा त विकास नै रैछ, यो सडक नबनेको भए यति सुन्दर ठाउँ ओझेलमै हुन्थ्यो, तर अब उत्कृष्ट गन्तव्य मध्यमा पर्छ यो।’

युवायुवतीसँगै पारिवारिक घुमघामका लागि पातीहाल्ने पहिलो रोजाई बन्न थालेको छ। बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि एक घण्टामै पुग्न सकिने भएको हुँदा व्यापारीहरू पनि यहाँ घुम्न पुग्ने गरेका छन्। बिदाको दिन करिब तीन सय पर्यटक यहाँ पुग्ने गरेको पाइन्छ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६