देश

चितवन र तनहुँका सडकमा दिनभर गाडी बन्द, साँझ खुल्ने



काठमाण्डौ, १० वैशाख । उपचुनावका कारण चितवन र तनहुँका सडकमा लामो र छोटो दूरीका सबै गाडी चलाउन रोक लगाइएको छ ।

बारामा भने लामो दूरीका गाडी सञ्चालन गर्न दिइएको छ । चितवन र तनहुँमा पर्ने पृथ्वी र पूर्व पश्चिम राजमार्ग लगायतका मुख्य सडक र अरु सहायक सडक खण्डमा भने अत्यावश्यक बाहेक कुनै पनि गाडी चलेका छैनन् ।

आज बिहान ६ बजेदेखि चितवनको क्षेत्र नम्बर–२ छुने सडक खण्ड धादिङ र नवलपरासीमा गाडी रोकिएका छन् । नवलपरासीतर्फ गैँडाकोट, रजहर र कावासोतीमा पनि गाडी रोकिएका छन् । त्यस्तै, मकवानपुरको हेटौँडा भएर चितवन चल्ने गाडीलाई पनि रोकिएको छ । ५ बजे चुनाव सकिएपछि बेलुका ६ बजेपछि मात्रै गाडी चल्ने ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक सेवाका गाडी एम्बुलेन्स, फोहर उठाउने, दूध बोक्ने तथा अनुमति लिएका गाडी भने चलेका छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार पूर्व सूचना दिएर आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन–२ मा पर्ने राजमार्ग एवं भित्री सडकमा गाडी चलाउन रोक लगाइएको हो । चितवन–२ मा पूर्व–पश्चिम महेन्द्र राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् ।

राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी चल्न नपाउँदा यात्रु मर्कामा परेका छन् । तर बेलुका ६ बजेपछि सार्वजनिक गाडी चल्न पाउनेछन् । यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले पनि पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिनुभयो ।

बारामा भने पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीका गाडी सञ्चालन गर्न दिइएको छ । अरू गाडी भने बन्द छन् । बारामा नेपाल–भारत ६५ किलोमिटर सीमानाका पनि बन्द गरिएको छ । आज चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान भइरहेकोले ती क्षेत्रमा भने सडकमा गाडी सञ्चालनमा रोक लगाइएको हो । रासस

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६